काठमाडौं := नेपाली समाज विभक्त छ। राजनीतिक विषयमा कुरा हुनासाथ काँग्रेस, कम्युनिस्ट लगायत दलहरुको कुरा आउँछ, आर्थिक कुरा गर्नासाथ धनी–गरिबका कुरा आउँछ, समाजको कुरा गर्नासाथ जात, धर्म, भूगोलको कुरा आउँछ । मधेसले पहाड र पहाडले मधेसलाई हेर्ने दृष्टिकोण फरक पाइन्छ । तर जब कुरा समाजसेवाको आउँछ, त्यहाँ कुनै बन्धन रहँदैन ।
भूकम्प, आ’गलागी, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपमा मधेशले पहाडलाई र पहाडले मधेशलाई जहिले पनि सहयोग गरेको हुन्छ । आपत्–विपत् वा दुःख–कष्टमा एकले अर्कोलाई गरेको सानो सहयोग पनि आत्मीय र महत्वपूर्ण हुन्छ । त्यसैले त अरु विषयमा विभक्त हुने समाजबीच पनि सामाजिक कार्य एवं समाजसेवाको विषयमा भावनात्मक सम्बन्ध गाँसिन्छ ।
त्यस्तै एउटा सुखद् अनुभव सँगालेका छन् जनकपुरका सामाजिक अभियन्ता सरोज रायले । असोज ८ गते दैलेखका १५ वर्षीय बालक प्रेम विकलाई नाउली, दुल्लुस्थित गाउँमै पुगेर उनका आमाबुवा समक्ष सुम्पिए पछि त्यहाँका गाउँलेबाट पाएको सम्मान सरोज राय त्यसलाई आफ्नो जीवनकै ठूलो उपलब्धि मान्छन् ।
उनले भारतको भागलपुरबाट प्रेम विकलाई उद्धार गरेर ल्याएका थिए। अभियन्ता राय भन्छन्, ‘प्रेमलाई लिएर उनको गाउँ जाँदा गाउँबासीले तीन किलोमिटर वरैसम्म आएर पञ्चेबाजासहित स्वागत गरेका थिए, डाँडामा तीन किलोमिटरको हिँडाइ, साथमा पञ्चेबाजा, ठाउँ ठाउँमा टिका र मालाले स्वागत उहाँहरूले दिनुभएको सम्मानलाई यहाँ शब्दमा व्यक्त गर्न सक्दिनँ ।’
कसरी फेला परे प्रेम ?
प्रेमका बुवा शेरबहादुर विकले छोरा यसरी फर्केर आउँछन् भनि आश मारिसकेका थिए । ११ महिनाअघि कमाउनका लागि आफन्तसँग मुम्बई गएका प्रेम विक दोस्रो दिन नै हराएका थिए। रेल्वे प्लेटफर्ममा डुलिरहेको देखेर त्यहाँका प्रहरीले प्रेम विकलाई समातेर बालबालिका उद्धार तथा संरक्षणको क्षेत्रमा काम गर्ने ‘सीडब्लुसी’ को बिहार शाखालाई बुझाएको थियो ।
त्यहाँबाट नेपालमा रहेका उनको आफन्तलाई खोज्ने निकै प्रयास भयो । प्रेम विकलाई पनि आफ्नो गाउँ ठाउँको बारेमा राम्रो जानकारी थिएन । उनले जिल्लाको नाम दुल्लु भनेका थिए । नेपालमा दुल्लु जिल्ला खोज्दा खोज्दै सो संस्था हैरान भइसकेको थियो । उता प्रेमका बुवा शेरबहादुर विक आफ्नो छोरालाई खोज्न मुम्बईसम्म पुगेका थिए । कतै फेला नपरेपछि उनी आफ्नो भाइ टेकबहादुर विकका साथमा निराश भएर नेपाल फर्किए ।
खोजविनमा एक/डेढलाख रुपैयाँ खर्च भइसकेको थियो । वर्ष दिन हुन लाग्दा पनि कुनै अत्तोपत्तो परिवारले प्रेम विकको आशा मारिसकेको थियो । बिहार भागलपुरका सीडब्लुसीले अभियन्ता रायलाई सम्पर्क गर्यो । राय यसअघि पनि यस्ता उद्धार कार्यमा संलग्न रहे का कारण सो संस्थाले रायसँग सम्पर्क गरेको थियो । रायलाई दुल्लु भन्ने जिल्ला नेपालमा छैन भन्नेमा थाहा थियो । त्यसैले उनले दुल्लुका बारेमा गुगलमा सर्च गरे ।
दुल्लुलाई दैलेख जिल्लामा देखायो । थप सोधखोज हुँदै गर्दा प्रेम विकको गाउँ नाउली पत्ता लाग्यो । उनले दैलेख जिल्ला प्रहरीलाई स’म्पर्क गरे । प्रेम विक नामको बालक हराएको बारे कुनै निवेदन आएको छ कि भनेर उनले जिल्ला प्रहरी कार्यालयलाई सोधे तर त्यस्तो कुनै उजुरी प्रहरीमा थिएन । जिल्ला प्रहरी कार्यालयले दुल्लुको प्रहरी चौकीको नम्बर दियो ।
दुल्लु प्रहरी चौकीमा सम्पर्क गर्दा त्यहाँ पनि कुनै उजुरी नपरेको जानकारी रायले पाए । त्यहाँको प्रहरीले दुल्लु नगरपालिकाको वडा नम्बर १ का वडाअध्यक्षको नम्बर दियो । रायले ती वडा अध्यक्षलाई सोधे पछि आफूलाई त्यस्तो जानकारी नभएको भन्दै वडा नम्बर २ का अध्यक्षलाई सोध्न सुझावसहित उनको नम्बर दिए । रायले वडा नम्बर २ अध्यक्षलाई सम्पर्क गरेपछि मात्र प्रेम विकका आमाबुवासँग सम्पर्क भयो ।
त्यसपछि सबै प्रमाण जुटाएर राय भागलपुर गए । आवश्यक प्रक्रिया पु-याएर उनले त्यहाँबाट प्रेमलाई लिएर आएका थिए । नेपाल ल्याएर उनले प्रेमलाई जनकपुरस्थित आफ्नो घरमा तीन दिन राखे । को’रोना म’हामारीको सन्त्रासबीच उनले आफूसहित प्रेमको पनि पीसीआर टेस्ट गराए । रिपोर्ट नेगेटिभ आएपछि उनी दैलेखतर्फ लागे ।
जसरी प्रेमलाई आफ्नो गाउँ पुग्न र परिवारसँग भेट्न ह’तार थियो, त्यसरी नै नाउली गाउँलाई पनि प्रेम विकको प्रतीक्षा थियो । अभियन्ता राय र प्रेम विकको बाटो कुरेर पुरै गाउँबासी बसेका थिए । साँझ गाउँ पुगेका राय लाई गाउँलेहरुले तीन किलोमिटर वरसम्म आएर स्वागत गरेका थिए ।
भोलिपल्ट स्थानीय बासिन्दाले खसीको बलि दिएर कुलदेवताको पूजा गरे । पुरै गाउँ मिलेर कुल देवताको सामु अभियन्ता रायको सम्मान गरे । प्रेमका आमाबुवाले त ‘हाम्रो लागि तपाईं नै देवता हो’ भन्दै खुट्टा नै ढोग्न खोजेका थिए, तर रायले ढोग्न दिएनन् । राय भन्छन्, ‘यो सम्मान र श्रद्धा हेर्दा मेरो आँखा पनि रसायो । पहाडका मान्छेले मधेशको एउटा मान्छेलाई देवताको संज्ञा दिएका देख्दा साँच्चै भावुक भएँ ।’
उनी अगाडि भन्छन्, ‘बुढी आमाहरुले समेत मलाई गरेको स्वागतले साँच्चै म भावविह्वल भएँ, जीवनमा मैले थुप्रै सम्मान पाएँ तर नाउलीवासीले दिएको मायाले मुटु नै छोयो । मधेश र पहाडको बीचमा जानी–जानी खाडल बनाइएको छ । सबैका पीडा उस्तै छन्, सबैको चाहना उस्तै छन्, सबैको आकांक्षा उस्तै छन् ।’ रातोपाटीमा खबर छ ।




















