घेदुङ मलेसियाको २१औँ वार्षिक उत्सव तथा ५औँ महाधिवेशनमा राजदूतावास प्रमुख अतिथि।

क्वालालम्पुर (मलेसिया):= नेपाल तामाङ घेदुङ मलेसियाले आफ्नो २१औँ वार्षिक उत्सव तथा ५औँ महाधिवेशन भव्य रूपमा आयोजना गर्ने तयारी गरेको छ। उक्त कार्यक्रममा नेपाली दूतावास, मलेसिया प्रमुख अतिथिका रूपमा सहभागी हुने भएको छ।

आयोजकका अनुसार सो कार्यक्रम यसै वर्ष २०२६ आउँदो महिना सेप्टेम्बर १३ गते आइतबार बिहान ११ बजे क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजना हुनेछ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिताका लागि औपचारिक निमन्त्रणा दिन नेपाल तामाङ घेदुङ मलेसियाका पदाधिकारी तथा सल्लाहकारहरूको टोली आज नेपाली दूतावास पुगेको थियो।

टोलीले दूतावासका कार्यवाहक राजदूत मुदित बज्राचार्यलाई औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेको हो। निमन्त्रणा हस्तान्तरणका क्रममा घेदुङका प्रतिनिधिहरूले मलेसियामा रहेका सम्पूर्ण तामाङ समुदायलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जानकारी गराएका थिए।

साथै, वार्षिक उत्सव तथा महाधिवेशनलाई ऐतिहासिक र प्रभावकारी बनाउन मलेसियामा रहेका तामाङ समुदायसँगै नेपाली समुदायको सहभागिता महत्वपूर्ण हुने बताएका थिए।घेदुङले कार्यक्रमलाई संस्थागत उपलब्धि, सांस्कृतिक पहिचान र सामुदायिक एकताको उत्सवका रूपमा मनाउने जनाएको छ। महाधिवेशनमार्फत संस्थाको आगामी कार्यदिशा, नेतृत्व तथा भावी योजनाबारे समेत महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

नेपाल तामाङ घेदुङ मलेसियाले मलेसियाका विभिन्न राज्य तथा क्षेत्रमा रहेका सम्पूर्ण तामाङ समुदायका साथै गैर–तामाङ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समेत कार्यक्रममा उपस्थित भई उत्सव तथा महाधिवेशन सफल बनाउन हार्दिक आग्रह गरेको छ।