धनगढी । विगतका वर्षहरूमा असोज लागेपछि पश्चिमी सीमानाका गौरीफन्टा र गड्डाचौकी भएर स्वदेश फर्किनेको लर्को हुन्थ्यो । बर्षभरि मुगलानमा पसिना बगाएका नेपालीहरू दशगजामा आइपुग्दा दंग हुन्थे । तर अहिले ती सुदूरपश्चिमका अनुहार र पश्चिमी सीमा नाकाको दृश्य फेरिएको छ । अहिले स्वदेश फर्किनको संख्याभन्दा रोजगारीका लागि भारत जाने नेपालीको संख्या तीन गुणा बढी छ ।
कोरोना भाइरसको प्रभावले छाक टार्न मुस्किल भएपछि भारत जान लागेको बझाङका स्थानीय प्रयाग कोइरालाले गुनासो गर्नुभयो । ‘स्वदेशमै बसे पनि रोजगारी पाइने होइन,’ उहाँले भन्नुभयो, ‘पेट पाल्नकै लागि भए पनि जानुपर्ने भारत नै हो ।’ कोरोनाकै प्रभावका बीच गत असारमा घर फर्किनुभएका उहाँ त्रिनगर–गौरीफन्टा नाका भएर भारत पस्नुभयो ।
अहिले कहिल्यै भारत नगएका सुदूरपश्चिमवासी पनि रोजगारीका लागि भारत जान बाध्य भएका छन् । नेपालीको महाड चाड दशैं आउन एक महिना पनि छैन तर, हामी रहरले होइन बाध्यताले रोजगारीकै लागि भारत जान लागेको हो, गौरीफन्टामा भेटिनुभएका हरीश मल्लले भन्नुभयो । ‘दशैं नजिकै आउदै गरेको भए पनि गुजारा चलाउनै मुस्किल हुन लागेपछि भारत गइरहेको छु,’ उहाँ भन्नुहुन्छ, ‘स्थानीय र प्रदेश सरकारले रोजगारीको वातावरण बनाउला भन्ने विश्वास छैन । मुगलान पस्नलाई मन थिएन । केही नभएपछि जानु नै पर्ने बाध्यता आयो ।’ असोज सुरु भएपछि मात्र गौरीफन्टा नाका भएर झण्डै सात हजार प्रदेशवासी भारत परेका छन् ।
सुदूरपश्चिमको प्रमुख रोजगार गन्तव्य भारत हो । सजिलै आउजाउ गर्न पाइने भएपछि सुदूरपश्चिमबाट ठूलो संख्यामा मानिसहरू गुजाराका लागि भारत जाने गर्दछन् । यसरी भारत गएकाहरू विगतका वर्षमा दशैँ मनाउन भनेर एक महिनाअगाडि नै घर आउने गर्थे । दीपावलीपछि फर्किन्थे । तर यसपालि भने दृश्य फेरिएको छ । घर फर्किने बेला कामको खोजीमा भारत जानेको नाकामा लाइन छ । गत चैतदेखि सुरु भएको कोरोना भाइरसको प्रभावका कारण लाखौं सुदूरपश्चिमबासी स्वदेश फर्किएका थिए । कतिपय कोरोनाको त्रासले फर्किएका थिए भने कतिपय रोजगारी गुमेपछि घर आएका थिए । झण्डै चार पाँच महिनाको स्वदेश बसाइपछि घर खर्च चलाउनसमेत नसकिने भएपछि फेरि पनि भारत जानुपरेको गुनासो उनीहरूको छ ।
न उनीहरूलाई सरकारको स्वरोजगारको कार्यक्रमले रोक्न सकेको छ न भारतमा बढिरहेको कोरोना भाइरसको त्रासले छेकेको छ । चार महिनाअगाडि यसै नाकाबाट कोरोना त्रासले उनीहरू घर फर्किएका थिए ।’ डडेल्धुरा अजयमेरुका प्रयाग टमटाले भन्नुभयो, ‘भारतमा अहिले कोरोना झनै बढेको छ तर छाक टार्नका लागि भए पनि भारत जानैप¥यो ।’ चाडपर्व परिवारसँगै मनाउने इच्छा भए पनि बाध्य भएर भारत जानपरेको तर्क उहाँको छ ।
कोभिड–१९ महामारीले अवस्था फेरिएको हो । अधिकांश सुदूरपश्चिमेली चैतबाट नै हुलका हुल नेपाल फर्किएका थिए । भारतमा कोरोना महामारीको उकालो गति देखेर नेपाल फर्किएकाहरू नेपालमै बस्न भने पाँच महिना पनि भ्याएनन् । वर्षकै ठूलो चाडको मुखमा परदेशिन बाध्य भइरहेका छन् । चाडभन्दा भोक ठूलो हो । खानलाई काम गर्नैप¥यो । स्वदेशमा काम पाइएन । अनि झोलाझिम्टी बोकेर, रोगको डरका बीच बाध्यतावश परदेसिएका हुन् ।
भारत जाने क्रममा सीमा भेटिनुभएका डडेल्धुराका विमल नेपालीले भन्नुभयो, ‘रोगभन्दा भोक ठूलो हुँदो रहेछ भन्थे हो रहेछ । दशैँको मुखमा भारत जानुपर्दा खिन्न भएको छु ।’ गत भदौबाट रोग जिते पनि भोक जित्न नसकिने भन्दै उनीहरू फेरि भारत पस्ने क्रम फाट्टफुट्ट सुरु भएको थियो । अहिले चाडबाडको मुखैमा झन् त्यो चटारो चुलिएको छ । गत जेठमा दैनिक पाँच हजारसम्म नेपाली स्वदेश फर्किएको गौरीफन्टा नाकाबाट अहिले दैनिक एक हजार जना फेरि भारत पस्न थालेका छन् । यसरी दशैँको मुखैमा भारत पस्नेहरू गरिबीको थिचोमिचोले मुगलान पस्नुपर्ने बाध्यता आई लागेको बताउँछन् ।
गौरीफन्टा नाका सुदूरपश्चिमको प्रमुख नाका हो । विभिन्न ठाउँबाट भारत पस्न लागेकाहरूलाई लाइनमा बस्नुपर्ने हुन्छ । त्यहाँ भारततर्फ र नेपालतर्फका सुरक्षाकर्मीले उनीहरूको व्यवस्थापन गर्छन् । प्रायः जसो हरेक दिन नाकामा ठेलमठेल लाइनमा हुन्छन् भारत पस्नेहरू । भारत पस्नेहरूको लाइनमा कैलाली लम्कीका अर्जुन विष्ट पनि भेटिनुभयो । उहाँ पनि सोही नाका भएर घर फर्केको तीन महिना मात्रै भएको छ । उहाँले तीन महिनासम्म बेरोजगार बनेर बसेपछि ६ जनाको परिवार पाल्न स्वदेशमै गुजारा चलाउने विकल्प नदेखेर फेरि भारत जान थालेको बताउनुभयो । ‘घरमा न काम छ । काम नभएर पैसा पनि आउँदैन,’ उहाँ भन्नुहुन्छ, ‘परिवारसँगै बसेर दशैँ मनाउने रहर त थियो । तर हामी गरिबलाई सधैँ सोचेजस्तो रहर पूरा गर्न कहाँ पाइन्छ र ? थप चार महिना बसेर घर जाउँला र दशैँ मनाउला भनेर सोच्नुभएका अर्जुनको सपनामा कोरोना कहरको तुषारापात भयो । असोज सुरु भएपछि मात्र गौरीफन्टा नाका भएर झन्डै सात हजारभन्दा बढी भारतप्रस्थान गरिसकेका छन् ।




















