हिजोसम्म तिमी बिजुलीको उज्यालोमा थियौ
अब ती दिन गए अँध्यारोमा बस्नुपर्ने भयो
तिम्रो घर मशानघाटमा परिणत हुने भयो
मट्टितेलका टुकी, दिउरी र लालटिनको जोहो गर्नु
मैनबत्तीका टुक्राटाक्री कतै छन् कि त्यसको पनि खोजी गर्नु
दूरदराजका गाउँलेहरूले सलेदो र सल्लोको मेसो मिलाउनु
तिम्रो घरमा बिजुली बल्दैन किनभने अब कुलमान पदमा छैनन् !
कुलमानअघि अठार घण्टा लोडसेडिङ थियो
उनको आगमनसँगै फुमन्तर ! अँधेरो भाग्यो
अब चौबीसै घण्टा लोडसेडिङ हुने भयो
पानीको धनी देशमा अँधेरोले आकाश छुने भयो
तस्कर र भ्रष्टका घरमा झलमल्ल उज्यालो हुने भयो
नानीहरूलाई जुनको उज्यालोमै लेख्न पढ्न भन्नू
गरिबका भान्छामा दिउरीको धिपधिपेमा ढिँडो पस्कनू
उज्यालोका लागि भालेको डाँकोसँगै भोलिको बिहान पर्खनू
सुर्का फगटा भए बेचबिखन गरेर ‘इन्भर्टर’ किन्नू
हाम्रो छाप्रामा उज्यालो बल्दैन किनभने अब कुलमान पदमा छैनन् !
कोरोना महामारीले बचेखुचेको सातु र पिठो भए
बेलैमा पकाएर उज्यालोमै पस्कनू ! अँधेरो भएसि बिजुली आउँदैन
गाउँलेलाई बिजुली हेर्न मन लागे सहरतिर धाउनू
अब रातको उज्यालोमा रोदी र मारुनी घन्किने छैनन्
मादल र खैंजडी बजाएर दिउँसै तिर्सना मेट्नू
पछिका पुस्ताले उज्यालो चिन्न मन लागे उनै कुलमानलाई सोध्नू
केही वर्षपछि यो देशमा बिजुली ‘एकादेशको कथा’ हुनेछ
‘सुन्नेलाई सुनको माला भन्नेलाई पूmलको माला’
बिजुलीको रहर नगर्नू अब दिनको उज्यालो सूर्य र रातको उज्यालो जुन हुनेछ
बिजुली सपनामै सीमित हुने भयो किनभने अब कुलमान पदमा छैनन् !
ठेगाना ः भानु नगरपालिका –९, तनहुँ ।
हाल ः बूढानीलकण्ठ –१, काठमाडौं ।
(व्यंग्यकार विश्वशान्ति क्याम्पसका उपप्राध्यापक हुनुहुन्छ ।)



















