म झुल्कन्छु र उजिल्याउँछु सृष्टि
विनापूर्वाग्रह विनाभेदभाव
हरेक घर आँगनमा
निर्दोष र निष्कलंकित बालकको हाँसो झैँ
म जून हुँ ।
अँधेरी चिरेर आकाशको
चमचम चम्किदिन्छु
र निसासिन दिन्नँ दुनियाँ
घाम लुटिएको बेला पनि ।
फक्राएर फूलका थुंगाहरू
छर्छु गुलाबी हाँसो
र मग्मगाउँछु बाबरी र लालीगुराँस सँगसँगै
लहराउँछु लतिकाहरू
जन्माउँछु पिपिराहरू
र जगाउँछु सारा धर्ती
बर्साएर शीतका शीतल थोपहरू
तिमीलाई थाह छ ?
जूनको कुनै देश हुँदैन
जूनमा कुनै आक्रोश, आवेश हुँदैन
जून निभ्दैन कहिल्यै
चाहे हेर चाहे नहेर
चाहे देख चाहे नदेख
तिमी चाहन्छौ भने मलाई थुनेर
बारभित्र रमाउँन
त्यो स्वीकार्य छैन मलाई
तिमी चाहन्छौ भने
घेरेर काँडेतारले बनाउन पेवा
त्यो सम्भव छैन मलाई
जून बारभन्दा माथि हुन्छ
जून काँडेतारभन्दा माथि हुन्छ
जूनको उज्यालो ।



















