रेमिट्यान्समा वृद्धि, नेपालमा विदेशबाट २ महिनामै भित्रियो ४ खर्ब ३६ अर्ब।

काठमाडौं := चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाउने रेमिट्यान्स (विप्रेषण) मा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउन र भदौ महिनामा मात्रै कुल ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।

यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले बढी हो। प्रतिवेदन अनुसार भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको भदौको तुलनामा करिब ४६ अर्ब रुपैयाँले बढी हो। वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत रहेको रेमिट्यान्स अमेरिकी डलरमा गणना गर्दा पनि समीक्षा अवधिमा १३.५ प्रतिशतले बढेर २ अर्ब ५ करोड डलर पुगेको छ।

सोही अवधिमा रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ७८,३२० र पुनः श्रम स्वीकृति लिनेको संख्या ५२,१६३ रहेको राष्ट्र बैंकले जनाएको छ। साउन महिनाको तुलनामा भदौमा रेमिट्यान्स प्रवाह थप बलियो बनेसँगै यसले देशको विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिलाई थप मजबुत बनाउन ठूलो योगदान पुर्‍याएको अर्थविद्हरूको भनाइ छ।