आखिर.. के हो हृदय ?

नवराज गौतम

हृदयलाई अर्को शब्दमा मुटु पनि भनिन्छ । मुटुले शरीरका सबै भागमा रगत पु¥याउने काम गर्छ । अनि दिमागका कोशिकाहरूले रगतमा भएको अक्सिजन प्रयोग गरेर आफ्नो काम गरिरहन्छ । केही वैज्ञानिकहरूका अनुसार दिमागका विभिन्न भागहरूले विभिन्न काम गर्दछन् । जस्तै ः सोच्ने, स्मरण गर्ने, महसुस गर्ने आदि । चोट, पीडा, खुशी, रोदन, हाँसो यी सबै दिमागका उपज हुन् । 

अनि हृदय ? हृदय के हो ? के त्यो फगत एउटा मांसकोश मात्र हो ? लाग्छ यो जगतमा नसुल्झिएका कतिपय वस्तुझैँ यो हृदय पनि कुनै अलौकिक वस्तु हो, जसलाई जति बुझ्न खोज्यो त्यति कठिन । साहित्यमा हृदयलाई सुख, दुःख, घृणा आदि भाव अनुभूत गर्ने एउटा अंगका रूपमा वर्णण गरेको पाइन्छ । तर, विज्ञानले यसलाई दिमागको करामत भन्छ । आखिर विज्ञान र साहित्यबीच यो अन्तरविरोध किन ?

आज दिउँसो एकछिन गीतहरू सुनेर बसेँ । भक्तराज आचार्यको ‘मुटु जलिरहेछ’ र अर्को नारायण गोपालको ‘तिम्रो जस्तो मुटु मेरो पनि …।’ त्यस्तै एकदेव आलेको ‘तिम्रो मुटुमा म मात्र छु ..’ अनि दीपक लिम्बुको ‘मुटु माग्यौ तिमीले…’ पनि सुनेँ । गीतहरू कर्णप्रिय र हृदयस्पर्सी लाग्यो । नारायण गोपालको गीतले एकछिन भावुक पनि बनायो । यी कर्णप्रिय, हृदयस्पर्सी र भावुक शब्दहरू दिमागसँग सम्बन्धित हुन कि हृदयसँग ? हृदयसँग सम्बन्धित होइन भने हृदयस्पर्सी किन भनियो ? अर्को कुरा यी गीतहरूमा एउटा शब्द प्रयोग भएको पाएँ ‘मुटु’ । 

मुटुलाई अर्को शब्दमा हृदय भनिन्छ । हृदयको अर्थ दिल, चित्त, अन्तस्करण, अन्तरात्मा र मन पनि हुँदो रहेछ । अरुणा लामाको गीत ‘पोहोर साल खुशी फाट्दा जतन गरी मनले टाले’ । यहाँ मन हृदय र दिलकै अर्थमा प्रयोग भएको रहेछ । साहित्यका विभिन्न विधा गीत, गजल, कविता, उपन्यास आदिमा मुटु, हृदय, दिलका बारेमा यतिधेरै वर्णण गरिएका छन् कि शायदै अरू विषयमा होलान् । हिन्दी सिने क्षेत्रमा पनि दिल तो पागल है, दिल दिवाना होता है अथवा जब दिल ही टुट गयाजस्ता सयौं गीतहरू छन् जहाँ दिललाई केन्द्रमा राखेर लेखिएको छ । टुट्ने, पागल र दिवाना हुने त्यो दिल आखिर हो के ?

कलेजमा पढ्ने एकजना साथी थियो । ऊ अलि रसिक थियो, उसलाई हामी दिलवाले भन्ने गर्दथ्यौँ । अर्को एउटा थियो दिल फेंक । तराईमा यस्ता शब्दहरू निकै प्रचलित छन् । त्यस्तै हाम्रो गाउँमा एकजना बाजे हुनुहुन्थ्यो । उहाँलाई सबैले कलकत्ते बाजे भनेर बोलाउने गर्थे । उहाँको कुरा गर्ने शैली आकर्षक थियो । त्यतिबेला हामी दशबाह्र वर्षका केटाहरू घण्टौं उहाँका कुराहरू सुनेर बस्थ्यौँ । कहिलेकहीँ उहा भन्ने गर्नुहुन्थ्यो ‘बुझ्यौ जमिन्दार र राजाहरूको हृदय हुँदैन’ । त्यतिबेला हृदय (दिल) नहुनुको गहिरो अर्थ हामी बुझ्दैनथ्यौं । अहिले सम्झिदै छु 

हृदय नहुनु भनेको दया, माया नहुनु रहेछ, निर्दयी हुनु रहेछ । बाजेले राजा र सामन्तहरूलाई पचास वर्षअघि हृदय नभएको भनेका थिए । तर, त्यसभन्दा पनि सयौं वर्षअघिदेखि अहिलेसम्म हृदयको भावबारे धेरै कुरा साहित्य र जनबोलीमा लेखिँदै, पढिँदै र सुनिँदै आइएको छ । 

के हृदय फगत एउटा मांसकोश हो ? हो भने यो मन त मेरो नेपाली हो, हृदयको पानाभरि तिमी नै तिमी, तिमी नै मेरो चित्त चोर हौ, मुटु जलिरहेछ, मानिस ठूलो दिलले हुन्छ …किन ?

कथा, कविता र उपन्यासहरूमा भावनाको सम्बन्ध हृदयसँग जोडिएको प्रसस्त पढ्न पाइन्छ । चाहे त्यो रोमियोजुलिएट होस् या लैलामजनु या मुनामदन । अब केही प्रश्न के बोलचाल र साहित्यमा प्रयोग हुने ‘हृदय’ बिम्बमात्रै हो कि अरूथोक पनि हो ? यसबारे भनिएका कुराहरू कल्पित उडानमात्र हुन कि ? कि चेतन प्राणीको अवचेतन सोच हो ? कि शरीरमा रगत फ्याक्ने पम्पमात्र हो ? आखिर हृदय हो के ?