मलेसियामा आयोजित ‘वेसाक-डे सम्मेलन २०२६’ भव्य रूपमा सम्पन्न।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा आयोजित ‘वेसाक सम्मेलन २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। बौद्ध समुदायको छाता संस्था Majlis Perundingan Buddhis Malaysia (MPBM) को आयोजना तथा मलेसिया सरकारको सहकार्यमा सम्पन्न उक्त सम्मेलनमा नेपाली समुदायको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

शनिबार क्वालालम्पुरस्थित Menara KEN TTDI मा आयोजित सम्मेलनको उद्घाटन मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको प्रमुख आतिथ्यतामा गरिएको थियो। कार्यक्रममा विभिन्न देशका बौद्ध धर्मावलम्बी, धार्मिक अगुवा, सामाजिक अभियन्ता तथा नेपाली समुदायका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

सम्मेलनमा बौद्ध धर्मले विश्व शान्ति, सहिष्णुता, मानवता र सामाजिक सद्भाव कायम गर्न खेलेको भूमिकाबारे विशेष छलफल गरिएको थियो। सहभागीहरूले बौद्ध शिक्षाले वर्तमान विश्वमा बढ्दो द्वन्द्व र असहिष्णुतालाई न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

आयोजक संस्था MPBM ले सम्मेलनमार्फत मलेसियालाई अन्तर्राष्ट्रिय बौद्ध संवादको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्य रहेको जनाएको छ। साथै, सम्मेलनले विभिन्न देशबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। नेपाली समुदायका प्रतिनिधिहरूले समेत यस्ता अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन पाउनु गौरवको विषय भएको बताएका छन्।