क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको गन्तव्य रोजाइमा ठूलो परिवर्तन देखिएको छ। लामो समयदेखि नेपाली कामदारहरूको प्रमुख आकर्षण रहँदै आएको संयुक्त अरब इमिरेट्स (UAE) लाई पछि पार्दै मलेसिया पुनः नेपाली श्रमिकको नम्बर १ रोजाइ बनेको छ।
वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्कअनुसार गत वैशाख महिनामा मात्रै १७ हजार २५२ जना नेपालीले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन्। यही अवधिमा यूएई जाने श्रमिकको संख्या १७ हजार १०८ रहेको छ। यससँगै मलेसिया सबैभन्दा धेरै नेपाली कामदार जाने देशको सूचीमा शीर्ष स्थानमा पुगेको हो।
विभागका अनुसार वैशाख महिनामा विभिन्न प्रमुख गन्तव्य मुलुकका लागि श्रम स्वीकृति लिने नेपालीहरूको संख्या यस्तो रहेको छः
• मलेसिया — १७,२५२ जना
• यूएई — १७,१०८ जना
• कतार — १०,६६७ जना
• साउदी अरब — ८,६६४ जना
• कुवेत — ३,२७९ जना
वैदेशिक रोजगार विशेषज्ञहरूका अनुसार पछिल्लो समय मलेसियाले उत्पादन, सेवा तथा औद्योगिक क्षेत्रमा रोजगारीका नयाँ अवसर विस्तार गर्नुका साथै श्रम नीतिमा केही सहजता ल्याएकाले नेपाली युवाहरूको आकर्षण फेरि मलेसियातर्फ बढ्न थालेको हो।
कोभिड महामारीपछि केही समय सुस्ताएको मलेसिया रोजगारी बजार अहिले पुनः सक्रिय बन्दै गएको देखिएको छ। आकर्षक तलब, नियमित माग र तुलनात्मक रूपमा सहज श्रम प्रक्रिया कारण पनि नेपाली श्रमिकहरूको रोजाइ मलेसिया बन्दै गएको विश्लेषण गरिएको छ।




















