काठमाडौं := इण्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले नेपालस्थित ६ हजार आठ सय १२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गर्नुभएको छ । उहाँ यही जेठ २ गते हिमालको चुचुरोमा पुग्न सफल हुनुभएको इण्डोनेसियाली दूतावासले जनाएको छ ।
इण्डोनेसियन वुमेन्स रेड एण्ड ह्वाइट एक्सपेडिसन आमादब्लम नेपाल (इएमपिपिआइएएन)–२०२६ अन्तर्गत गरिएको उक्त आरोहणलाई इण्डोनेसियाली महिलाको साहस, क्षमता र अन्तर्राष्ट्रिय हिमाली आरोहणमा देखिएको दृढताको प्रतीकका रूपमा लिइएको छ ।
अभियान विश्वका तीन ठूला हिमाल आरोहण गर्ने दीर्घकालीन योजनाको पहिलो चरणका रूपमा सञ्चालन गरिएको जनाइएको छ । जसअन्तर्गत सन् २०२७ मा नेपालकै मनास्लु हिमाल तथा अन्तिम लक्ष्यका रूपमा पाकिस्तानस्थित केटु हिमाल आरोहण गर्ने योजना रहेको छ ।
इण्डोनेसियामा महिला अधिकार तथा समान अवसरका पक्षमा आवाज उठाएकी राष्ट्रिय व्यक्तित्व आरए कार्तिनीको आदर्शलाई आत्मसात् गर्दै गरिएको उक्त अभियानले महिलालाई साहसिक क्षेत्रमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ । नाद्या गत अप्रिल २९ मा नेपाल आउनुभएको थियो ।
उहाँलाई नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालसहित नेपालस्थित इण्डोनेसियाली समुदायले स्वागत गरेका थिए। आरोहणका क्रममा उहाँले बेस क्याम्पदेखि क्याम्प–१ र क्याम्प–२ सम्म क्रमिक अनुकूलन गर्नुभएको थियो ।
प्रारम्भिक चरणमा नेपाली गाइड पासाङ शेर्पाले साथ दिनुभएको थियो भने अन्तिम आरोहणका क्रममा सोनाम शेर्पा र पुर्बा तामाङ सहभागी हुनुभएको थियो । लगभग १८ देखि १९ घण्टासम्मको कठिन हिमाली यात्रापछि नाद्या सफलतापूर्वक आमादब्लमको चुचुरोमा पुग्न सफल हुनुभएको बताइएको छ ।
उक्त उपलब्धिको सम्मानस्वरूप नेपालस्थित इण्डोनेसियाली समुदाय र बंगलादेशस्थित इण्डोनेसियाली दूतावासका प्रतिनिधिहरूले स्वागत कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा आमादब्लम सफल आरोहण गर्ने अर्की महिला आरोही फुर्की स्यारोनीलाई पनि सम्मान गरिएको थियो ।
हालसम्म आमादब्लम हिमाल सफल आरोहण गर्ने इण्डोनेसियाली आरोहीको संख्या १२ पुगेको बताइएको छ । दूतावासका अनुसार नेपालका हिमालहरूमा आरोहण गर्नु केवल साहसिक यात्रामात्र नभई उद्देश्य, सपना र राष्ट्रिय गौरवसँग जोडिएको अभियान हो ।




















