सरकारको निर्णयपछि मात्रै पशुपतिनाथको मन्दिर खुल्छ : डा. खतिवडा

काठमाडौं । केही ठाउँबाहेक देशका अधिकांश ठाउँमा लकडाउन हटिसकेको छ । सुरक्षा मापदण्ड अपनाएर यायायात, विभिन्न व्यापार, व्यवसाय र दैनिक गतिविधि पनि सामान्य अवस्थामा फर्किन थालेको छ । बजारमा मानिसहरूको चहलपहलसमेत उल्लेख्य रूपमा बढेको छ । चाडबाडलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाएपछि कोरोना संक्रमणदर भने निरन्तर उकालो लागिरहेको छ । 

सबैजसो क्षेत्रलाई खुकुलो बनाउन थालिएपछि आम मानिसको चासो मठ–मन्दिर खोल्नेतर्फ बढ्दै गएको छ । नजिकिएको बडादशैंसँगै सुरु हुने नवरात्रमा विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा सर्वसाधारणको उल्लेख्य भीड हुने गर्दछ । तिनै धार्मिकस्थलहरूमध्ये धेरैको ध्यान पशुपतिनाथको मन्दिर कहिले खुल्छ भन्नेतर्फ गएको छ । कतिपयले त मन्दिरका गतिविधि पुरानै अवस्थामा फर्काउनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम पनि गर्न थालिसकेका छन् । तर पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा भने अहिलेसम्म पशुपतिनाथको मन्दिर खोल्ने बिषयमा कुनै पनि आधिकारिक कुरा नभएको बताउनुहुन्छ । 

हिमालय टाइम्ससँग कुरा गर्दै डा.खतिवडा भन्नुभयो, ‘बाहिर मिडियामा आएजस्तो सबै कुरा सत्य छैन, मिडियाले मन्दिर भोलि नै खुल्नेजस्तो गरेर प्रचार गरिरहेका छन् । तर सरकारी निकायबाट कुनै जानकारी नआई हामी मन्दिर खोल्न सक्दैनौं ।’ 

त्यअघि उहाँले भन्नुभयो, ‘दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्न हामी सक्षम छौं भनेको हो । मन्दिर अहिले नै खोलिहाल्ने मैले भनेको छैन’ ।  

उहाँका अनुसार कोषको तर्फबाट मन्दिर खोल्न कुनै समस्या छैन, सबैजसो क्षेत्र खुलिसकेकाले सरकारले निर्णय गरेपछि मन्दिर खुल्छ । 

उहाँले मन्दिर खुलेपछि दर्शनार्थीहरूले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो । दुर्ई मिटरको भौतिक दूरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिएको छ । विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरू खुला नभए पनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको डा. खतिवडाले बताउनुभयो । 

मन्दिरभित्र प्रवेश गरेपछि पुरै परिक्रममा गर्न भने पाइने छैन । मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने उहाँले बताउनुभयो । कार्यकारी निर्देशक डा. खतिवडाले सरकारले निर्देशन दिएको दोस्रो दिनपछि नै पशुपतिनाथ मन्दिर सञ्चालन गर्न सकिने अवस्था रहेको बताउनुभयो । 

दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै मन्दिर खुला भए पनि विशेष पूजाको व्यवस्था भने नगरिने भएको छ । भण्डारी र भट्टहरूलाई संक्रमणको जोखिम बढी भएकाले तत्काल विशेष पूजाको व्यवस्था नहुने उहाँले प्रस्ट पार्नुभयो । अहिले नित्य पूजा नरोकिए पनि विशेष पूजा र दर्शन गर्न भने रोक लगाइएको छ । सरकारले अन्य सेवा क्षेत्र खुला गरेसँगै धार्मिक स्थलहरू पनि सञ्चालन गर्नुपर्ने माग राख्दै केही दिन अघि पशुपति क्षेत्रमा प्रदर्शन भएको थियो ।