उपभोक्तालाई प्याजको आँसु ‘खोई अनुगमन’ ?

काठमाडौं । प्याजबिनाको नेपाली भान्छा हुन छाडेको छ । अर्थात् हाम्रो भान्सामा अनिवार्यजस्तै बनेको छ प्याज । यसको खेती सबै जिल्लामा हुने गरे पनि पर्याप्त उत्पादन नहुँदा स्वदेशी मागलाई समेत धान्न सक्दैन । प्याजको पूरा माग पूर्ति गर्न भारतकै भर पर्नुपर्ने बाध्यता छ । सोही कारण भारतले निर्यातमा रोक लगाउँदा यहाँ प्याजको अभाव हुने गर्दछ । यतिबेला पनि फेरि बजारमा प्याजको अभावले चर्चा पाएको छ । केही दिनअघि मात्रै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आफैँ प्याज किन्न गएको र बढी मूल्य तिरेको समाचार हिमालय टाइम्सले प्रकाशित गरेको थियो ।  

हामीकहाँ प्याजको खपत बढ्दै गएको तर यसको तुलनामा उत्पादन हुन नसक्नुका कारण आयात गर्नुपर्ने अवस्था छ । भारतले निर्यात रोक्दा नेपालको बजारमा प्याजको कृत्रिम अभाव हुनुका साथै यसको मूल्य आकासिने गर्दछ । यस्तै पछिल्लो समय नेपाली बजारमा प्याजको भाउ आकासिएको छ । यसको मुख्य कारण भारतले निर्यात रोक्नु नै हो । भारतले निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यापारीले प्याज लुकाउन थालेका छन् । भारत सरकारले अर्को आदेश नहुञ्जेलसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।

मन्त्री लेखराज भट्टले उपभोक्ता बनेर कालीमाटी बजार अनुगमन गर्नुभएको थियो । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धसँगै प्याजको मूल्य आकासिएपछि मन्त्री भट्ट स्वयमले गत बुधबार अनुगमन गर्नुभएको हो । उहाँले अनुगमनपछि प्याजको मूल्य बढेकोमा बजार अनुगमन गरिएको हो भन्दै ‘व्यापारीहरूले अभाव सिर्जना गर्न खोजेका हुन् । तर, अभाव हुँदैन ।’ उहाँले भन्नुभयो । 

यस्तै मन्त्री भट्टले छिट्टै प्याजको मूल्यमा नियन्त्रण आउने दाबी पनि गर्नुभएको छ । ‘प्याजको मूल्यमा नियन्त्रण नआउने प्रश्नै उठ्दैन’, उहाँले भन्नुभयो, ‘महंगो मूल्यमा प्याज बेच्नेलाई आवश्यक कारबाही हुन्छ ।’ मन्त्री भट्टले नेपालमा प्याजको अभाव सिर्जना हुन नदिन भारत–चीनसँग कूटनीतिक पहल भइरहको पनि उहाँले बताउनुभयो । नेपालीहरूको महान् पर्व दसैँ–तिहार नजिकिँदै छ । यस समयमा प्याजको बढी खपत हुने भएकाले त्यसलाई मध्यनजर गर्दै आफूहरूले कसरी अगाडि बढ्न सकिन्छ भनी छलफल गरिरहेको मन्त्री भट्टले जानकारी दिनुभयो । ‘दशैँ–तिहारमा प्याज खपत धेरै नै हुन्छ’, उहाँले भन्नुभयो, ‘त्यसलाई मध्यनजर गर्दै यस विषयमा सचिवलगायत अन्य वाणिज्य तथा आपूर्ति विभागका प्रमुखसँग छलफल गरेर रणनीति बनाउँछौ । त्यो रणनीतिअनुसार नै काम अघि बढ्छ ।’

वरिष्ठ बागवानी विकास अधिकृत भरतबहादुर आचार्यका अनुसार तथ्यांकगत आधारमा हेर्दा नेपालको उत्पादनले खपत धान्न नसक्ने भए पनि आयात रोकिँदैमा मूल्यमा तीव्र उतारचढाव आउने स्थिति भने देखिदैन । उहाँले नेपालमा करिब चार लाख मेट्रिक टन वार्षिक खपत हुने गरेको र नेपालको उत्पादन तीन लाख मेट्रिक टन रहेको बताउनुभयो । 

आयातको सन्दर्भमा गत वर्ष पनि भारतले निर्यातमा रोक लगाउँदा केही खपत घटेको वरिष्ठ बागवानी विकास अधिकृत आचार्यको भनाइ छ । तर, सहज अवस्थामा बढीमा पनि साढे चार लाख मेट्रिक टन प्याज खपत हुन्छ । जुन नेपालको उत्पादनले धान्न नसक्ने स्थिति भए पनि मूल्यमा अत्यधिक वृद्धि हुने स्थिति नरहेको उहाँको भनाइ छ ।

नेपालमा प्याजको उत्पादन बढाउन जमिनको क्षेत्रफल र उत्पादकत्व क्षमता बढाउनुपर्ने देखिन्छ । नेपालमा अहिले तराई र मध्यपहाडी क्षेत्रमा गरी कुल २० हजार ९०८ हेक्टर क्षेत्रफलमा प्याज खेती हुँदै आएको छ । सरकारले प्याजको उत्पादन बढाउनका लागि विभिन्न कार्यक्रमहरू समेत लागू गरेको छ । आर्थिक वर्ष २०६३÷०६४ देखि आर्थिक वर्ष २०६९÷०७० सम्म तराईका जिल्लाहरूमा प्याज मिसन कार्यक्रम सञ्चालन भएको थियो । अहिले पनि १० जिल्लाका १० वटा स्थानीय तहमा सरकारले प्याजको व्यावसायिक गाना उत्पादन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । वरिष्ठ बागवानी विकास अधिकृत आचार्यले भन्नुभयो, ‘स्थानीय तहमा नै कार्यक्रम सिधंै संघबाट जाने सशर्त अनुदान कार्यक्रम भनेर एक करोड रुपैयाँ बजेटको कार्यक्रम १० वटा जिल्लाको १० वटा स्थानीय तहमा गएको छ । प्याजको व्यावसायिक गाना उत्पादन कार्यक्रम भनेर गएको छ ।’ भारतमा उत्पादन बढी हुने र नेपालमा सोही प्याज आयात हुँदा मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले किसानहरू प्याज खेतिमा आकर्षित हुन नसकेको पनि आचार्यले बताउनुभयो ।

यस्तै भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य बढाउने सात तरकारी पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । काठमाडौंका विभिन्न स्थानमा रहेका तरकारी पसलमा अनुगमन गरी विभागले उपभोक्ता संरक्षण ऐनविपरीत काम गर्ने सात पसललाई ११ लाख ७० हजार रुपैयाँ बराबर कारबाही गरिएको जनाएको छ ।

२० दिनयता १६६ प्रतिशतसम्म मूल्यवृद्धि

कालिमाटी फलफूल तथा तरकारी बजारको मूल्यसूची हेर्दा २० दिन यता १६६ प्रतिशतसम्म प्याजको मूल्यवृद्धि भएको पाइएको छ । बजार विकास समितिले जारी गरेको मूल्यसूची अनुसार गत भदौ १६ गतेपछि हालसम्म प्याजमा १६६ प्रतिशत मूल्यवृद्धि भएको पाइएको हो । गत भदौ १६ गत ४२ रुपैयाँ प्रतिकेजी थोकका दरले बिक्री वितरण भएको प्याज असोज ४ गते ११२ रुपैयाँ थोकमा बिक्री वितरण भइरहेको छ । थोकमा ११२ रुपैयाँमा बिक्री वितरण भए पनि खुद्रामा कालिमाटीभित्रकै अर्को बजारमा १४० रुपैयाँ प्रतिकेजीमा उपभोक्ताले खरिद गर्दै आएका छन् ।