रोगभन्दा भोक ठूलोः गुजारा चलाउनै मुस्किल भएपछि भारत पस्नेको ओइरो

धनगढी । रोजागारीका सिलसिलामा भारत जानुभएका बैतडीको दशरथचन्द नगरपालिका–१० का  धर्मेन्द्र लावड कोरोना संक्रमण फैलिएसँगै गत चैत्रमा घर फर्किनुभएको थियो । विश्वभर कोरोना महामारी चलेको बेला उहाँले पनि भारतको रोजगारी छोडेर झण्डै ६ महिना घरमै बिताउनुभयो । संक्रमण नरोकिएपछि उहाँलाई घरखर्च चलाउन पनि निकै समस्या सृजना भयो । जेनतेन कर्जाले घर चलाउनुभएका लावडलाई आर्थिक समस्याले सताउन थालेपछि महामारीकै बीच उहाँ फेरि भारततर्फ फर्किनुभएको छ । ‘साँझ बिहान चुल्हो बाल्नसमेत निकै समस्या सृजना भयो, आफ्नो ज्यानको मायाभन्दा छोरोछोरीको मायाले पिरोल्न थाल्यो’ लावडले भन्नुभयो, गाउँघरमा रोजगारीको केही सिप नचलेपछि ज्यान जोखिमको प्रभाव नगरी घरखर्च चलाउनका लागि भारत जानुपर्ने बाध्यता भयो ।’ भारतमा उहाँ सामान्य मजदुरी गरेर मासिक १५ हजार भारु कमाउँनुहुन्छ । सिंगो परिवार नै उहाँको कमाइका भरमा चलेको छ । स्वदेशमा बस्दा आफूहरू भोकै मर्नुपर्ने अवस्था छ, कमसेकम भारत गएपछि परिवार त बच्छ ।, मरे पनि भारतमै मरिएला हाम्रो दुःख हामीसँगै छ ।’ उहाँले भन्नुभयो । लावडजस्तै अहिले स्वदेश फर्कनेको नेपालीको संख्याभन्दा स्वदेशबाट भारत जाने नेपालीको संख्या बढिरहेको छ । नेपालमा रोजगारी नहुनु तथा गरिबीका कारणले गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले दैनिकजसो सयाँैको संख्यामा नेपालीहरू भारत जान थालेका छन् । 

यसैगरी वैशाखको अन्तिमतिर घर फर्किनुभएका बैतडीको सिगास गाउँपालिका– ९ का लोकेन्द्रबहादुर धामी पनि गुजारा नलचेपछि फेरि भारततिरै लाग्नुभएको छ । चार महिना गाउँमा बेरोजगार बस्दा गुजारा चलाउनै अप्ठ्यारो भएपछि भारत फर्कनुपरेको उहाँको गुनासो छ । लोकेन्द्र पाँच वर्षदेखि भारतको राजधानी दिल्लीमा सुरक्षागार्डको रूपमा काम गर्दै आउनुभएको छ । गाउँमा चार महिनासम्म केही काम पाइनँ,’ ‘बेरोजगार बस्दा घर परिवार पाल्न पनि समस्या हुन थाल्यो । त्यही भएर पुरानै काममा जान लागेको हुँ ।’  रोजगारीका लागि भारत गएकाहरू कोरोना संक्रमणको डरले घर फर्किए पनि अहिले भोकसँग हारेर फेरि भारत जाने क्रम बढेको छ । केही महिना घर–गाउँमै बसेका उनीहरू गुजारा चलाउनै मुस्किल भएपछि फेरि भारत जान थालेका हुन् । अहिले पुनः कामकै खोजीमा भारततिर फर्किनेको सीमा नाकामा लर्को छ । कैलालीका डबलबहादुर दमाईलाई भारत जाने इच्छा छैन । परिवार पाल्नकै लागि भारत जानुपर्ने बाध्यता छ । कैलालीको बर्दगोरिया गाउँपालिका–५, बैदीपुरका डबलले संसारभर कोरोना महामारीको त्रास फैलिएका बेला भारत जानु रहर नभई बाध्यता भएको बताउनुभयो । कोरोना भाइरसको संक्रमण बढेपछि गत फागुनमा भारतबाट स्वदेश फर्किनुभएको थियो । चार वर्षदेखि पन्जाबको लुधियानामा निजी गाडी चलाउँदै आउनुभएका उहाँ परिवार पाल्न नसक्ने अवस्था आएपछि भारत पस्नुभएको हो । ‘मेरै भरमा  भरमा १० जनाको परिवार पाल्नुपर्छ, ‘महामारीको बेला घरमा बस्न त कसलाई मन लाग्दैन । तर, यहाँ बसेर काम पाइएला जस्तो लागेन । कोरोनाको डर लागे पनि परिवार पाल्न भारत फर्कनैप¥यो ।’ चार महिनाअघि भारतबाट घर फर्किएर फेरि भारत जान लागेका कैलाली गौरीगंगाका रमेश विकले भन्नुभयो, ‘गाउँमा बसेर छाक टार्नै मुस्किल भयो । भारतमा कोरोना भाइरसले भयावह रुप लिएको जानकारी पाएको छु । तर छाक टार्न पनि जार्ने पर्ने भयो ।’ उहाँसँगै रहेका इन्द्र चौधरीले पनि गुजारा चलाउन बाध्य भएर भारत गइरहेको बताउनुभयो । बेरोजगार बस्दा छाक टार्न समेत गाह्रो भएपछि महामारीबीच पनि भारत फर्कनुपर्ने बाध्यता आएको अधिकांश सुदूरपश्चिमवासीको भनाइ छ । 

भारतबाट वैशाखमा नेपाल आएका रोजगारीका लागि भारत गएकाहरू कोरोना संक्रमणको डरले घर फर्किए पनि अहिले भोकसँग हारेर फेरि भारत जाने क्रम बढेको छ । त्रिनगर–गौरीफन्टा र गड्डाचौकी नाकाबाट दैनिक सयाँै नेपालीहरू भारत पसिरहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले सीमा नाकाबाट स्वदेश फर्किनको संख्याभन्दा भारत जानेको संख्या बढिरहेको बताउनुभयो । भारतीय एसएसबीले अहिले परिचयपत्र खुल्ने कार्डका आधारमा नेपालीहरूलाई सीमानाकाबाट प्रवेश दिइरहेको छ ।