म्याग्दीमा व्यावसायिक केरा खेतीमा डढुवा र गबारो रोगको प्रकोप

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा व्यावसायिक रुपमा लगाइएको केरा खेतीमा रोग किराको प्रकोप देखिन थालेको छ । जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मंगला र मालिका गाउँपालिकाको विभिन्न स्थानमा गरिएको केरा खेतीमा डढुवा, गबारो र खपटे घुन नामक रोगको प्रकोप देखिएको हो । 

व्यावसायिक रुपमा गरिएको केरा खेतीमा रोगको प्रकोप देखिएपछि कृषकहरु चिन्तित हुनुका साथै अहिलेसम्म रोग किराको उपचार गर्ने औषधी नपाएको गुनासो गरेका छन् ।

 केरा उत्पादनको पकेट क्षेत्र मानिने खबरा गाउँमा खपटे घुनले सयौं रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् । केरा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका कृषकहरुको केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित भएका हुन् । 

करिब १५ रोपनीको जग्गामा व्यावसायिक केरा खेती गर्नुभएका खबराका कृषक राजकुमार घिमिरेले व्यावसायिक केरा खेतीमा रोग किराको प्रकोप देखिएपछि समस्या भएको गुनासो गर्नुभयो । 

उहाँले डढुवा, गबारो, खपटे घुनको प्रकोपबाट पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, पहेंलो हुने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा नै सङ्कटमा पर्न थालेको बताउनुभयो । खबराको सिङ्गो गाउँका कृषकहरु नै केरा खेतीमा संलग्न छन् । सुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पु¥याएको उहाँले जानकारी दिनुभयो ।

कुल २ सय २० घरधुरी रहेको खबराका अधिकांश कृषकहरु व्यावसायिक केरा खेतीमा संलग्न छन् । वर्षेनी केरा खेतीतर्फ खबराका कृषकहरुको आकर्षण बढ्दै जान थालेको छ । तर, यसवर्ष कोरोना भाइरसका कारण जारी लकडाउन र सलह जातको किराले दुःख दिएको अवस्थामा केरा खेतीमा फेरी रोगको प्रकोप देखिएपछि कृषकहरु थप चिन्तित बनेका हुन् । खबरामा हजारिया जातको केराको उत्पादन अत्यधिक हुन्छ । यसका साथै नङ्ग्रे, मालुङ्गे, धुर्से जस्ता केराको उत्पादन हुने गरेको कृषकहरु बताउँछन् । 

केरा खेतीमा संलग्न कृषकहरुले केरा बिक्री गरेरै मासिक हजारौं रुपैयाँ आम्दानी गर्दै आइरहेका छन् । खबरामा व्यावसायिक केरा खेतीसँगै किबी, अम्बा, कटहर, कागतीलगायत फलफुलहरुको उत्पादन हुँदै आएको छ । यसवर्ष केरा खेतीमा रोगको प्रकोप देखिएकाले कृषकहरु समस्यामा परेको खबराका अर्का कृषक भूमिराज घिमिरेले बताउनुभयो । उहाँले व्यावसायिक रुपमा केरा तथा फलफुल खेती गरेका कृषकहरुलाई वडा, नगरपालिका र सम्बन्धित निकायले आवश्यक सहयोग गर्नेपर्ने माग गर्नुभएको छ ।