थारु समुदायको घर घरमा जितियाको रौनक सुरु, तर कोरोनाले रमझम र नाचगान बन्द।

काठमाडौं := तराईको आदिवासी जनजाती भुमिपुत्र थारु समुदायको विशेष महिलाहरुले मनाउने महानपर्व ” जितिया पर्व ” सुरु भएको छ।तीन दिन मनाइने जितियाको पहिलो दिन नदीमा जाने र माछा मारेर ल्याउने गरिन्छ । 

दोस्रो दिन स्नान गर्ने र जितवाहनको पूजा गर्ने तथा तेस्रो दिन समापन गर्ने गरिन्छ । थारु समुदायको परम्परागत पहिरनमा सजिएर सामूहिक रुपमा झाम्टा नाच्दै जितिया मनाउने गरिएकोमा यो वर्ष कुनै रौनक छैन।

जितिया अन्तर्गत आश्विन कृष्ण सप्तमी तिथिका दिन व्रतालु नदी, तलाउ वा पोखरीमा पुगेर स्नान गरी सूर्यदेवलाई जलर्पण गरेर पर्वको सङ्कल्प गर्छन् । घिरौंँलाकाे पातमा पिना, चिउरा र दही राखेर जिमूतवाहनलाई अर्पण गरी पर्व सुरु भएको हो । अष्टमी तिथिमा निराहार व्रत हुन्छ । त्यसअघि अन्न र  फलफूल ग्रहण गरिन्छ, जसलाई ‘ओठघन’ भनिन्छ । यसपल्ट तिथि हेरफेर भएकाले व्रतालुले ओठघन गर्न पाएका छैनन् । आज ओठघन गर्न नियमले नपाइने पण्डित विमल झाले बताउनुभयो । 

नवमी तिथिमा पूजापाठ गरेर पर्व समापन हुन्छ । व्रतालु यसपल्ट ३३ घण्टासम्म उपवासमा बस्ने भएका छन् । यसवर्ष कोरोना महामारीका कारण घरघरमै जितिया पर्व मनाइँदै छ । सामूहिक नाचगान र भोजभतेरमा भने रोक लगाएको थारु कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीले बताउनुभयो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताउनुभएको छ । जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले आफ्नो परिवारका सदस्यको सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दै मनाउने जितिया जस्ता पर्वले एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेको समेत बताउनुभयो । 

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानी पूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको भन्दै उहाँले आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वान समेत गर्नुभएको छ  ।