मलेसियाको पेराक तेलुक इन्तानमा मिटरब्याजमा ऋण लगानी गरेको आरोपमा दुई नेपाली पक्राउ।

पेराक (मलेसिया):= मलेसियाको पेराक राज्यस्थित तेलुक इन्तान क्षेत्रमा गैरकानुनी रूपमा चर्को ब्याजमा ऋण लगानी गरेको आरोपमा दुई जना नेपाली नागरिक पक्राउ परेका छन्।

कारखानामा कार्यरत कामदारहरूलाई उच्च ब्याजदरमा ऋण दिने तथा ऋणको ग्यारेन्टीका रूपमा उनीहरूको बैंक एटीएम कार्डसमेत आफूसँग राख्ने गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा हिलिर पेराकको कमर्सियल क्राइम इन्भेस्टिगेशन डिपार्टमेन्ट (CCID) ले उनीहरूलाई पक्राउ गरेको हो।

हिलिर पेराकका प्रहरी प्रमुख एसीपी चुआ कोक लियनका अनुसार प्रहरीले गत सेप्टेम्बर ४ मा सञ्चालन गरेको ‘अपरेशन भल्चर’ अन्तर्गत ती दुई नेपालीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेका संदिग्धहरूका साथबाट ५ वटा बैंक एटीएम कार्ड तथा केही सुनका गहना बरामद गरेको जनाएको छ। उनीहरूले विदेशी कामदारलाई लक्षित गरी अनुमति तथा लाइसेन्सबिनै ऋण लगानी गर्दै आएको हुनसक्ने आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मलेसियाको कानुनअनुसार बिना इजाजत वित्तीय कारोबार सञ्चालन गर्नु तथा अरू व्यक्तिको बैंक एटीएम कार्ड आफ्नो कब्जामा राख्नु गम्भीर कानुनी अपराध मानिन्छ। प्रहरीले घटनाबारे Moneylenders Act 1951 अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले यस घटनामा अन्य व्यक्तिको समेत संलग्नता भए/नभएको विषयमा अनुसन्धान जारी राखेको छ। घटनाले मलेसियामा कार्यरत विदेशी कामदारहरूलाई अनधिकृत ऋणदाता तथा चर्को ब्याजको ऋण कारोबारबाट सावधान रहनुपर्ने आवश्यकता पनि देखाएको छ।