भोकालाई खाना खुवाउँदै बेनिशा

काठमाडौं । नेपालमा कोरोना महामारीले ठूलो रूप लिँदै गर्दा विभिन्न व्यक्ति, संघसंस्थाले विपन्न परिवारलाई सहयोग गरिरहेका छन् । यस्तै विभिन्न कलाकारहरूले सहयोग जुटाइरहनु भएको छ र हस्तान्तरण पनि भइरहेको छ ।

आर्थिक अवस्था बलियो हुनेलाई बन्दाबन्दीले खासै ठूलो असर पारेको छैन । तर, दैनिक श्रम गरेर खानुपर्ने श्रमिकलाई अहिले रोगभन्दा ठूलो चिन्ता भोकको छ । पहिलो चरणको लकडाउनमै राजधानीमा बस्ने अधिकांश श्रमिकको कोठामा रासन पानी सकिएको छ । निषेधाज्ञाका कारण चुहृलो बल्न छाडेपछि आजभोलि हजारौं भोका पेटहरू भोक मेट्न रत्नपार्क पुग्ने गरेका छन् । 

बिहान बेलुका हातमुख जोर्न समस्या भएर भोक मेट्न पुगेकालाई विभिन्न संघसंस्थाले रत्नपार्क क्षेत्रमा खाना बाँड्ने गरेका छन् । यो कार्यमा नेपाली कलाकारले पनि साथ दिन लागेको देखिन्छ । केही दिनअघि अभिनेता पल शाहले रत्नपार्क पुगेर भोका पेटहरूलाई आफैंले खाना बाँड्नुभएको थियो । यस्तै सोमबारबाट अभिनेत्री बेनिशा हमालले पनि खाना बाँड्न सहयोग गर्नुभएको छ । 

रोयल कोल्याबोरेटिम्ससँगको सहकार्यमा उहाँले सोमबार रत्नपार्कमा भोकाहरूलाई खाना बाँड्नु भएको हो । फेसबुकमा यो कुरा उल्लेख गर्दै भोलि पनि आफू सहभागी हुने बताउनुभयो, ‘बाँडेर खानेको पेट कहिलै खाली हुँदैन ।’ रोजगारी गुमेर बिहान–बेलुका हातमुख जोर्न समस्या हुने १५ सय मजदुरलाई रोयल कोल्याबोरेटिम्सले दैनिक खाना खुवाउँदै आएको छ ।