क्वालालम्पुर (मलेसिया):= मलेसियाका पूर्वप्रधानमन्त्री दातुक सेरी नाजिब राजाकले बुधबार उच्च अदालतमा आरएम ५० मिलियन मलेसियन रिंगिट (करिब १ अर्ब ८६ करोड नेपाली रुपैयाँ) जरिवाना बुझाउने तयारी गरेका छन्। उक्त जरिवाना बुझाएपछि उनले बाँकी कैद सजाय आफ्नै निवासमा घरमै नजरबन्द (हाउस अरेस्ट) मा बिताउन पाउने सम्भावना रहेको छ।
गत अक्टोबर १४ मा नजिबले घरमै नजरबन्दमा राख्ने व्यवस्थासम्बन्धी आदेशको आधिकारिक कागजात प्राप्त गरिसकेको पुष्टि भएको थियो। तर, उक्त कागजातको विषयवस्तु सार्वजनिक गर्न भने उनलाई प्रतिबन्ध लगाइएको छ।
नजिबका कानुनी प्रतिनिधि वरिष्ठ अधिवक्ता तान श्री मुहम्मद शफी अब्दुल्लाहले उच्च अदालतले १ मलेसिया डेभलपमेन्ट बर्हाद (१एमडीबी) कोष दुरुपयोगसम्बन्धी मुद्दामा सुनाइएको १५ वर्षको जेल सजाय र आरएम ११.४ अर्ब जरिवाना कार्यान्वयन स्थगित गर्न गरिएको निवेदन अस्वीकार गरेपछि यस्तो जानकारी दिएका हुन्।
शफीले घरमै नजरबन्दमा राखिने स्थान नजिबको आफ्नै निवास नम्बर ११, लाङकाक दुतामा रहेको पनि पुष्टि गरेका छन्। यसअघि प्रधानमन्त्री कार्यालयअन्तर्गत कानुनी मामिला विभागका महानिर्देशक दातुक जम्री मिस्मानले मलेसिया कारागार विभागले नजिबलाई घरमै नजरबन्दमा राख्ने प्रक्रियाबारे थप स्पष्टीकरण दिएको बताएका थिए।
त्यस्तै, गत सेप्टेम्बर १९ मा महान्यायाधिवक्ता तान श्री मोहम्मद दुसुकी मोक्तारले घरमै नजरबन्द कार्यान्वयनका लागि कारागार विभागले मानक सञ्चालन प्रक्रिया (एसओपी) तयार गर्ने अपेक्षा गरिएको बताएका थिए।
नजिब सन् २०२२ अगस्ट २३ देखि SRC इन्टरनेसनल कम्पनीको आरएम ४२ मिलियन रकम दुरुपयोग गरेको अभियोगमा काजाङ जेलमा सजाय भोगिरहेका छन्। उनले सन् २०२२ सेप्टेम्बर २ मा तत्कालीन याङ दी-पर्तुआन आगोङसमक्ष राजकीय क्षमादानका लागि निवेदन दिएका थिए।
यसअघि सन् २०२० जुलाई २८ मा उच्च अदालतले तीनवटा विश्वासघात तथा तीनवटा सम्पत्ति शुद्धीकरणसम्बन्धी र एउटा पदको दुरुपयोगसम्बन्धी अभियोगमा दोषी ठहर गर्दै उनलाई १२ वर्षको जेल सजाय र आरएम २१० मिलियन जरिवाना सुनाएको थियो।
नजिबमाथिको १ एमडीबी तथा SRC इन्टरनेसनलसम्बन्धी आर्थिक अनियमितताको मुद्दा मलेसियाको राजनीतिक तथा न्यायिक इतिहासमा चर्चित प्रकरणका रूपमा रहेको छ।




















