क्वालालम्पुर (मलेसिया):= मलेसियामा अनलाइन प्रणालीको प्रयोग गरि ठगी गर्ने गिरोहविरुद्ध अध्यागमन विभागले ठूलो कारबाही गरेको छ। विभिन्न ६ वटा आवासीय घरमा छापा मारेर १०९ जना विदेशी नागरिकसहित ११७ जनालाई पक्राउ गरिएको छ।
अध्यागमन विभागका महानिर्देशक दातुक जकारिया साबानका अनुसार नोभेम्बर ३ मा सर्वसाधारणबाट प्राप्त उजुरी र करिब दुई सातासम्म गरिएको गोप्य अनुसन्धानपछि उक्त कारबाही सञ्चालन गरिएको हो।
कारबाहीका क्रममा ९८ जना विदेशी पुरुष र ११ जना विदेशी महिला पक्राउ परेका छन्। त्यस्तै, सात जना मलेसियाली पुरुष र एक जना मलेसियाली महिला पनि पक्राउ परेका छन्।पक्राउ पर्ने विदेशी नागरिकहरूमा चीन, जापान, दक्षिण कोरिया, कम्बोडिया र भियतनामका नागरिक रहेका छन्।
अध्यागमन विभाग र मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोग (एमसीएमसी) को संयुक्त टोलीले सञ्चालन गरेको उक्त कारबाहीमा अध्यागमन विभागका ७७ जना र एमसीएमसीका १० जना अधिकारी सहभागी थिए। टोलीले बिहान ११ बजेर ५० मिनेटमा एकैपटक विभिन्न स्थानमा छापा मारेको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार ती आवासीय घरहरू अनलाइनमार्फत ठगी गर्ने केन्द्रका रूपमा प्रयोग हुँदै आएका थिए। विशेषगरी नक्कली लगानी योजना, झुटा रोजगारीका प्रस्ताव “डिमाण्ड लेटर” तथा अनलाइन व्यापारका नाममा सर्वसाधारणलाई ठगी गर्ने गतिविधि सञ्चालन भइरहेको आशंका गरिएको छ।
छापा मार्ने समयमा त्यहाँ रहेका व्यक्तिहरू विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी पीडितहरूसँग सम्पर्क गरिरहेको अवस्थामा भेटिएको अधिकारीहरूले बताएका छन्।यसअघि सेलाङ्गोर राज्यको सेरी केम्बाङस्थित एक सुविधासम्पन्न आवासीय क्षेत्रमा पनि सोही गिरोहसँग सम्बन्धित हुन सक्ने आशंकामा कारबाही गरिएको थियो।
कारबाहीका क्रममा एमसीएमसीका प्राविधिक टोलीले ७० भन्दा बढी विद्युतीय उपकरणको निरीक्षण गरेको थियो। प्रहरीले तथा अध्यागमन अधिकारीहरूले ११५ थान ल्यापटप, ७९ थान मोबाइल फोन र ३ हजार ९५० मलेसियन रिङ्गिट नगद बरामद गरेका छन्।
पक्राउ परेका सबै विदेशी नागरिकलाई थप अनुसन्धानका लागि सेमेञ्यिह अध्यागमन हिरासत केन्द्रमा राखिएको छ।उनीहरूमाथि अध्यागमन ऐन १९५९/६३, राहदानी ऐन १९६६, अध्यागमन नियमावली १९६३ तथा मानव बेचबिखन र आप्रवासी तस्करीविरुद्धको ऐन २००७ अन्तर्गत अनुसन्धान अघि बढाइएको अध्यागमन विभागले जनाएको छ।




















