सन्दीपको टोली जमैका सेमिफाइनलमा

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको टोली जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नाभिस प्याट्रियोट्ससँग अंक बाड््नुका साथै अर्का खेलमा बार्बाडोस ट्राइडेन्स हारेपछि जमैकाले शीर्ष चारमा रहँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

वर्षाले खेल नभएपछि प्याट्रियोट्ले जमैकासँग अंक बाँडेको थियो । त्योसँगै पुछारमा रहेको प्याट्रियोट्स प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम खेल बाँकी रहँदा उसको तीन अंक मात्रै छ । यस्तै, अर्कातिर शुक्रबार बिहान सम्पन्न खेलमा गुयाना एमेजन वारियर्सले बार्बाडोस ट्राइडेन्सलाई ६ विकेटले पराजित ग¥यो । त्यो हारसँगै ट्राइडेन्स पनि प्रतियोगिताबाट बाहिरियो ।

दुई खेल बाँकी रहँदा जमैकाले भने सात अंकसहित आफूलाई चौथो स्थानमा राख्न सफल भएको छ । जमैकासँगै ट्रिनबेगो नाइट राइडर्स, गुयाना, सेन्ट लुसिया जुक्सले सेमिफाइनलमा स्थान बनाएका हुन् । सिपिएलमा अब लिग चरणका चार खेल बाँकी छन् । उक्त चार खेलपछि सेमिफाइनल कसले कोसँग भिड्ने पक्का हुनेछ ।

अंकतालिका शीर्षस्थान र चौथो स्थानमा रहेको टोलीबीच पहिलो सेमिफाइनल हुनेछ । दोस्रो सेमिफाइनलमा अंकतालिकामा दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल आठ सेप्टेम्बर र फाइनल सेप्टेम्बर १० मा हुने खेलतालिका तय भएको छ ।

अपराजित ट्रिनबेगो नाइट राइडर्स आठ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । गुयाना १० खेलमा ६ मा जित र चारमा हारसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । सेन्ट लुसिया जुक्स आठ खेलमा पाँचमा जित र तीनमा हारसहित तेस्रो स्थानमा छ । जमैका आठ खेलमा चार हार र तीन जितसहित सात अंक जोड्दै चौथो स्थानमा छ ।

बिहीबार प्याट्रियोट्सले सन्दीपको टोली जमैकाविरुद्ध पाँच दशमलव चार ओभरमा खेल रोकिनुअघि बिना विकेट गुमाएर ४६ रन जोडेको थियो । उसका इभन लुइसले १९ बलमा दुई चौका र एक छक्कासहित २१ रन जोड्नुभएको थियो । यस्तै, क्रिस लेनले १५ बलमा एक चौका र दुई छक्कासहित २३ रन जोड्नुभएको थियो । त्यसपछि भने वर्षा नरोकिएपछि खेल हुन सकेन र दुवै टोलीले एक÷एक अंक बाँडे ।