विराटनगरका थप दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । कोरोना भाइरसबाट संक्रमित विराटनगरका थप दुई जना महिलाको मृत्यु भएको छ ।

एक जनाको विराटनगरस्थित कोशी अस्पतालमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार साँझ कोशी अस्पतालमा मृत्यु भएकी महिलाको शनिबार बिहान ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको थियो  ।

विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलालाई ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएको थियो । उनको सोही दिन साँझ ७ः३० बजेतिर मृत्यु भएको थियो ।

स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकी मृतक महिलाको मृत्यु भएको १२ घण्टापछि रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको विराटनगर–११ घर भएकी ४३ वर्षीया महिला छिन् । उनको शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको थियो । प्रादेशिक ल्याब बिराटनगरमा परीक्षण गर्दा उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । बिगत ४ वर्षदेखि उनमा उच्च रक्तचापको समस्या थियो ।