निषेधाज्ञाको बाबजुद स्थानीयवासीले ताने रातो मच्छिन्द्रनाथको रथ, प्रहरीमाथि नै ढुंगामुढा, दर्जनौं घाइते

ललितपुर । जारी निषेधाज्ञाबीच बिहीबार ललितपुरको पाटनमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै रथ तानिएपछि अवस्था तनावपूर्ण बनेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञामा गरिएको रथ यात्रा रोक्न महानगरीय प्रहरी कार्यालय, ललितपुरलाई निर्देशन दिनुभएको थियो । 

झडपका क्रममा प्रहरीले पानीको फोहोरा र केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । स्थानीय युवाले रथ तान्न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए । त्यसक्रममा रथ तान्न जुटेकाहरूले प्रहरीको एउटा मोटरसाइकल जलाएका थिए । उनीहरूले प्रहरीको वाटर क्यानमाथि पनि आक्रमण गरेका थिए । भिडन्तका क्रममा केही प्रहरी, स्थानीय र केही पत्रकार घाइते भएका छन् ।

स्थानीय र प्रहरीबीचको झडपले उग्ररूप लिएपछि प्रहरीले अश्रुग्यास हानेको थियो । रथ तान्न लागेका युवालाई प्रहरीले रोकेपछि झडप भएको थियो । रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पु¥याइएको छ । प्रदर्शनकारीहरूले तितरवितर भएर पनि प्रहरीमाथि इँटा र ढुंगा बर्साएका थिए । पुल्चोकमा जम्मा भएका स्थानीय युवाहरूले रथ तान्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए भने बिहीबार बिहानैदेखि सयौं संख्यामा स्थानीय जम्मा भएका थिए । प्रहरीले कोरोना संक्रमण फैलिने भन्दै माइकिङ गरेर घर जान आग्रह गरे पनि स्थानीयले अ‍ेटर गर्दै रथ तान्न सुरु गरेका थिए । 

स्थानीयले असोज दुई गतेदेखि मलमास सुरु हुने र त्यसअघि नै मच्छिन्द्रनाथलाई बुङ्मती लग्नुपर्ने प्रचलनअनुसार रथ तानिएको बताएका छन् । गुठी संस्थान ललितपुरले भने कोरोना संक्रमणका कारण उपत्यकामा धार्मिक गतिविधि तथा जमघटमा रोक लगाइएको भन्दै सूचना जारी गरी रथारोहण स्थगित गरेको थियो । रोकिएको रथयात्रा कहिले गर्ने भन्नेबारे बिहीबार छलफल हुने तय गरिएको थियो, त्यसैबीचमा यो घटना भएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताउनुभयो । यस्तै, आफूलाई जानकारी नै नदिई केही युवाहरूले रातो मछिन्द्रनाथ रथयात्रा सुरु गरेकोे विषयमा ललितपुरका १९ जातीय संगठनले अनभिज्ञता जनाएका छन् । 

वर्षा र सहकालका देवताको रूपमा रातो मछिन्द्रनाथलाई पूजिन्छ । यो नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । लिच्छविकालदेखि निरन्तर चलिआएको भनिएको यो जात्रा वैशाख कृष्ण पक्षको प्रतिपदाबाट सुरु हुने गर्दछ । महामारी नियन्त्रणका लागि उपत्यका प्रशासनले भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा पुनः थप गर्दै बुधबार राति १२ बजेदेखि लागू हुने गरी साताव्यापी लम्ब्याएको छ । 

निर्घात कुटिए ट्राफिक प्रहरी जवान

प्रदर्शनकारीले एकजना ट्राफिक प्रहरी जवान सवार मोटरसाइकलमा आगो लगाए भने उहाँलाई निर्घात कुटपिट गरेका छन् । समूहले ३० वर्षीय कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेको हो । भिड नियन्त्रणमा सुरक्षा यन्त्रसहित खटिएका अन्य प्रहरीको रिस उनीहरूले घिमिरेमाथि पोखे । उहाँलाई सडकमै चारैतिरबाट घेरेर घिसार्दै, लछारपछार पारे । कसैले लडाए, कसैले लात्ती र मुक्का बर्साए । अन्तिममा केही स्थानीय र त्यहाँ तैनाथ प्रहरीले उहाँलाई घाइते अवस्थामा उद्धार गरी अल्का अस्पताल पु¥याए । कुटपिटबाट घिमिरेको टाउको, हात–खुट्टा, र ढाडमा चोट लागेको अल्का अस्पताल स्रोतले जनाएको छ । स्थानीयको ढुंगामुढाबाट इन्सपेक्टर रमेशकुमार श्रेष्ठसहित सात प्रहरी पनि घाइते हुनुभएको छ । उहाँहरूको पनि अल्का अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले जानकारी दिनुभयो ।

पुल्चोक क्षेत्र दिनभर तनावग्रस्त बन्यो । प्रहरीले बल प्रयोग गर्दासमेत भिड नियन्त्रण गर्न सकेन । तर, साँझपख ज्यापु समाजले अवस्थालाई सामान्य बनाउन भूमिका खेल्यो । दोहोरो भिडन्त भइरहेका बेला ज्यापु समाजका प्रतिनिधिहरूले सेतो झण्डासहित आएर प्रदर्शनकारीलाई शान्त बनाउन भूमिका खेलेका थिए । त्यसपछि दिनभर जस्तै आक्रमणमा उत्रेका प्रहरी र प्रदर्शनकारी पछि हटेका थिए ।