होम डेलिभरी सुचारु, गुणस्तरहीन सामान भिडाउन नपाइने

काठमाडौं । टेव अवे तथा होम डेलिभरी सुचारु भएको छ । सरकारले होटल तथा रेष्टुरेन्टले खानेकुरा उत्पादन गरी टेक अवे तथा होम डेलिभरीमार्फत ग्राहकसमक्ष पु¥याउन पाउने गरी अत्यावश्यक वस्तु तथा सेवा होम डेलिभरी गर्नेसम्बन्धी मापदण्ड २०७७ जारी गरेको छ । 

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवा होम डेलिभरी गर्नेसम्बन्धी मादपण्ड निर्माण गरी होम डेलिभरीलाई अनुमति दिएको हो । मापदण्डअनुसार दिउँसो १ बजेदेखि बेलुकाको ७ बजेसम्ममात्रै होम डेलिभरी र टेक अवे सेवा सञ्चालन गर्न पाउनेछन् । त्यस्ता सेवा दिन चाहने व्यवसायीले टेक अवेको साधन तथा होम डेलिभरीकर्ताको नाम, सम्पर्क नम्बर र प्रयोग गर्ने सवारीसाधन नम्बर प्रशासन कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र ट्राफिक प्रहरी महाशाखामा बुझाउनुपर्नेछ । 

होम डेलिभरी गर्ने वा टेक अवे सेवा दिने व्यक्तिको पिसिआर रिपोर्ट अनिवार्य नेगेटिभ हुनुपर्नेछ भने ग्राहकलाई सामान दिँदा २ मिटरको दूरी कायम गर्नुपर्नेछ । खानेकुरा, बालबालिकाको अत्यावश्यक सामान, छाला तथा कपाल सुरक्षासम्बन्धी सामान, व्यक्तिगत सरसफाइ सामान, घरपालुवा जनावरका लागि सामान, स्वास्थ्य सुरक्षाका आवश्यक सामग्री, औषधि र कृषिका मल बिउलगायत सामानमात्रै होम डेलिभरी गर्न पाइनेछ । 

त्यस्तै अनलाइन साइटमा सबै वस्तु तथा सेवाको मूल्य अनिवार्यरूपमा राख्नुपर्नेछ, सेवाग्राहीको मागअनुसारको गुणस्तर नभएको सामान फिर्ता लैजानुपर्नेछ, विलविजक अनिवार्यरूपमा राख्नुपर्नेछ, डेलिभरीकर्ताले अनिवार्यरूपमा कम्पनीको लोगो र नामसहित व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गर्नुपर्नेछ, डेलिभरी गर्ने साधन चारपांग्रे भएमा चालकसहित बढी दुईजना र दुईपांग्रे भएमा एकजनामात्रै हुनुपर्नेछ । 

सरकारले तोकेको निषेधित र संक्रमित क्षेत्रमा डेलिभरी गर्न पाइने छैन भने होम डेलिभरी गर्ने संस्था सरकारको सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएको हुनुपर्नेछ । त्यस्तै संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्यरूपमा साथमा राखेको हुनुपर्नेछ । मापदण्ड पालना भए नभएको सम्बन्धित निकायले नियमित र आकस्मिक अनुगमन गर्नेछ । होम डेलिभरीलाई व्यवस्थित गर्न सरकारले गत साता सरोकारवाला निकाय सम्मिलित समिति गठन गरेको थियो । 

कोरोना विषम परिस्थितिमा होम डेलिभरीलाई व्यवस्थित गर्न डेलिभरी प्रणालीमार्फत सेवा दिँदा अपनाउनुपर्ने मापदण्ड तयार गरी पेश गर्न काठमाडांैका सहायक प्रमुख जिल्ला अधिकारीको जनकराज भट्टको सयोजकत्वमा वाणिज्य विभाग, स्वास्थ्य कार्यालय र नेपाल प्रहरिको एक एकजना अधिकृत प्रतिनिधिसहितको समिति गठन गरिएको हो । 

गत बिहीबार प्रहरी प्रशासनले सामान डेलिभरीमा अवरोध गरेपछि नेपाल इ कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राख्दै सरकारलाई दबाब दिएको थियो । स्वास्थ्य मन्त्रालयले बालबालिका र ५० वर्ष नाघेका व्यक्ति घरबाहिर ननिस्कन आग्रह गरिरहेको सन्दर्भमा कतिपय परिवारमा सोही समूहका व्यक्ति किनमेल गर्न निस्कन परेको अवस्थामा सबै उमेर समूहकालाई घर बाहिर निस्कनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य होम डेलिभरीले गर्ने फोरमको भनाइ थियो ।

त्यस्तै नेप्लिज योङ इन्टरपे्रनियर्स फोरमलगायतले पनि कोरोना महामारीका कारण नेपाललगायत विश्व नै आक्रान्त रहेको भन्दै अत्यावश्यक दैनिक उपभोग्य वस्तु तथा सेवाको अनलाइन व्यापारलाई निरुत्साहित नगर्न आग्रह गरेको थियो । इन्फि स्टोर, ग्यापु मार्केटप्लेस, युजी, फुडमाण्डु, भोजडिल, फुडमारियो, काठमाडौं अग्र्यानिक, मेट्रो तकारी, सस्तो मेलालले होम डेलिभरी गर्दै आएका छन् ।