सुशान्तको मुद्दामा ड्रग्सको कनेक्सन

मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा अझै अनुसन्धान सकिएको छ । यसैबीच सीबीआईको अनुसन्धानमा लागूऔषध ड्रग्सको कनेक्सन देखिएको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको सामाजिक सञ्जालका म्यासेजले ड्रग्सको कनेक्सन देखाएको हो । ड्रग्सको कनेक्सन देखिएसँगै नारकोटिक्स ब्युरोले जाँच सुरु गरेको छ ।

रिया र सुशान्तकी पूर्वबिजनेस मैनेजर श्रुती मोदीसँगको कुराकानीमा औषधि दिँदा ठीक हुन नसकेको कुरा उल्लेख गरिएको छ । म्यासेजमा रियासँग कुरा भएको देखिन्छ । रियालाई सुशान्तले गाँजा छोड्नै पर्ने र भोलिबाट छोड्छु भनेको कुरा पूर्वम्यानेजर मोदीसँगको म्यासेजमा लेख्नुभएको छ । 

यसअघि भारतीय मिडियाबाट सार्वजनिक भएको म्यासेजमा १७ अप्रिलमा रियालाई मिरांडा सुशी नाम गरेका व्यक्तिले पठाएको म्यासेजबाट ड्रग्स मगाइरहेको पुष्टि हुन्छ । मिरांडाले माल (ड्रग्स) सकिएको र शौविकको साथीबाट लिनसक्छौं भनेर रियालाई प्रश्नसमेत गर्नुभएको छ । साथै शौविकको साथीसँग हैश र बडमात्र रहेको उल्लेख गरिएको छ । 

२५ नोभेम्बर २०१९मा रियाले जया शाहलाई म्यासेज लेख्नुभएको थियो । जुन डिलिट गरिएको थियो । छानविनका क्रममा रिकभर गरेर हेर्दा लेखिएको थियो, ‘कफी, चिया वा पानीमा मात्र चार थोपा हालेर उसलाई पिउन देउ । यसको असर ३० देखि ४० मिनेटमा आउनेछ । डिलिट गरिएको यो म्यासेजबाहिर आएसँगै सुशान्त केस नयाँ मोडमा आइपुगेको छ ।

सुशान्त आफैं ड्रग्स लिन्थे कि रियाले झुक्याएर खुवाइन् भन्नेतर्फ अनुसन्धान केन्द्रित गरिएको छ । यद्यपि रियाका वकिलले भने रियाले जीवनमा कहिल्यै ड्रग्स नलिएको र उहाँ रगत जाँच गराउन तयार रहेको उल्लेख गर्नुभएको छ । 

सुशान्तको केसमा ड्रग्सको कनेक्सन देखिएपछि नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)का निर्देशक राकेश अस्थानाले जाँच सुरु गरिएको बताउनुभएको छ । छानविन गरिरहेको प्रवर्तन निर्देशनालय (इडी)ले पनि एनसीबीलाई चिठ्ठी लेखेर सुशान्तसँग जोडिएका केही मानिस ड्रग्स लिँदै आएको जानकारी गराएको थियो । इडीले जयासँग सोधपुछ गरिसकेको छ ।