काठमाडौं । सरकारले घोषणा गरेका विभिन्न एकसय नयाँ पर्यटकीय गन्तव्यमध्ये ७० वटा गन्तव्यको प्रोफाइल तयार गरेको छ । बाँकी प्रोफाइल तयार गर्न स्थानीय तह तथा सरोकारवालासँगको सहकार्यमा तथ्याकं संकलन कार्य भइरहेको जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रगति प्रतिवेदनअनुसार देशैभर पर्यटन गतिविधिको विस्तार गर्न विकास गरिएको नमुना पर्यटन गन्तव्यअन्तर्गत निग्लिहवा र भादगाउँको ९५–९५ प्रतिशत, पञ्चासेको ९० प्रतिशत, सन्दकपुर, धनुषाधाम र इन्द्र सरोवरको ८५–८५ प्रतिशत तथा राराको ७० प्रतिशत भौतिक प्रगति भएको छ ।
नमस्ते सेन्टर ललितपुर महानगर परिसर, काठमाडौंको दरबारमार्गमा निर्माण सम्पन्न र हेटाँैडामा स्थापनाको तयारी भइरहेको साथै देशका अन्य स्थानमा पनि स्थलगत सर्वेक्षण भइरहेको प्रतिवेदनमा उल्लेख छ । अन्य पर्यटन पूर्वाधार निर्माणतर्फ प्रदेश २ को धनुषाधाम क्षेत्रको धनुष पोखरीको सौन्दर्यकरण सम्पन्न भएको छ भने बागमती प्रदेशको इन्द्र सरोवर क्षेत्रमा भ्यू टावर निर्माण सम्पन्न भएको छ ।
त्यस्तै प्रदेश ५ को जगदीसपुर ताल वरपरको क्षेत्रमा फुटपाथ निर्माण कार्य पनि सम्पन्न भएको छ । त्यस्तै पूर्वदेखि पश्चिमसम्म नेपालको हिमाली क्षेत्र समेट्ने द ग्रेट हिमालयन टे«ल (जिएचटी) को रेखांकन तथा पूर्वाधार निर्माणअन्तर्गत मकालु क्षेत्र ६ किलोमिटर, कञ्चनजंगा क्षेत्र १० किलोमिटर, ढोरपाटन, सेफोक्सुण्डो क्षेत्र ५ किलोमिटर तथा च्छोरोल्पा क्षेत्रमा ११ किलोमिटरको निर्माण कार्य सम्पन्न भएको छ ।
जिएचटीअन्तर्गतका विभिन्न क्षेत्रको १२७ किलोमिटरको डिपीआर तयार भएको छ । त्यस्तो सोलुखुम्बु क्षेत्रमा ६ किलोमिटर पदमार्ग तथा आरसीसी फुट ब्रिज पुनर्निर्माण सम्पन्न भएको छ भने धार्से–मनास्लु १० किलोमिटर पदमार्ग पुनर्निर्माण भएको छ । हेलम्बु–लाङटाङ, पदमार्ग, खोर सोतली–च्छोरोल्पा दोलखा क्षेत्र पदमार्ग निर्माण सम्पन्न भएको छ । त्यस्तै फूलचोकी–नमोबुद्ध एडभेन्चर साइक्लिङ रुट निर्माण भएको छ भने रानी महल पाल्पा–नुवाकोट एडभेन्चर साइक्लिङ रुट निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ ।
बूढानीलकण्ठ, शिवपुरी, गोसाइँकुण्ड, नुवाकोट, उत्तरगया, किस्पाङ, ठूलोगाउँ पदमार्गको प्रारम्भिक प्रतिवेदन तयार भएको छ । दोलखा–खारे, ढोरपाटन–रुकुम–डोल्पा बोर्डर (यार्सा टे«ल) ५ किलोमिटरका योजना सम्पन्न भएका छन् भने माइपोखरीदेखि सन्दकपुरसम्म पदमार्ग तथा विश्रामस्थलसहित ३ किलोमिटर तथा गण्डकी प्रदेशको पञ्चासे क्षेत्रमा पदमार्ग तथा विश्रामस्थलसहिति ३ किलोमिटर पदमार्ग निर्माण भएको छ ।
सातवटा प्रदेशमा एक–एक पर्यटन गन्तव्य निर्माणसम्बन्धी कार्यको समग्र प्रगति करिब ८५ प्रतिशत छ । मन्त्रालयद्वारा घोषित स्थापित तथा नयाँ विभिन्न १९२ गन्तव्यमध्ये १२२ को शतप्रतिशत र ७० वटाको ५० प्रतिशत बजेट प्रदेश तथा स्थानीय तहमा निकासा भई पर्यटकीय पूर्वाधार निर्माण कार्य भएका छन् । पर्यटनको विविधीकरण तथा साझेदारी सम्बन्धमा सातवटै प्रदेशका उद्योग, पर्यटन तथा वन तथा वातावरणमन्त्री तथा ६ वटै महानगरपालिकाका प्रतिनिधि सम्मिलित कार्यशाला आयोजना गरिएको छ ।
मन्त्रालयले कोरोनालगायतका कारण अपेक्षाअनुसार काम हुन नसकेको पनि जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले कोरोनालगायत उल्लेख्य काम हुन नसकेका कारण बजेट खर्च हुन नसकेको बताउनुभएको छ । कोरोना नभएको भए मन्त्रालयको प्रगति ९० प्रतिशत हुनसक्ने उहाँको थियो ।
मन्त्रालयका अनुसार आव २०७५÷७६ मा कुल बजेट ३३ अर्ब १३ करोड ३७ लाख रहेकोमा आव २०७६÷७७ मा २१ अर्ब २१ करोड ६९ लाख थियो । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो रकम विनियोजन भई खर्च हुन नसक्नु तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रकम भुक्तानी हुन नसक्नुले वित्तीय व्यवस्थातर्फ कम खर्च हुन गई समग्र बजेट खर्च घटेको बताइएको छ ।




















