इण्डोनेसियाको बाली द्वीप यो वर्ष पर्यटकको लागि नखुल्ने

बाली । इण्डोनेसियाको बाली द्वीप यसवर्ष पर्यटकका लागि नखुल्ने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै बाली द्वीप यसवर्ष पर्यटकका लागि नखोल्ने निर्णय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आउँदो महिनादेखि पर्यटकको लागि खोल्ने तयारी भइरहेको बाली द्वीप कोरोनाको संक्रमण बढेको भन्दै त्यहाँको सरकारले फेरि नखोल्ने निर्णय गरेको हो । बालीको आर्थिक अवस्था पर्यटन व्यवसायमा निर्भर छ । यो निर्णयसँगै अर्थव्यवस्थामा नकारात्मक प्रभाव पर्ने निश्चित भएको छ । हरेक वर्ष लाखौं विदेशी पर्यटक बाली घुम्न जाने गर्छन् । तर यो वर्ष अरू देशमा कोरोना संक्रमित बढेसँगै गरिएको सीमा बन्दका कारण कम पर्यटक बाली पुगेका छन् ।

बालीका गभर्नर वयान कोष्टरले एक बयानमा भन्नुभएको छ, ‘बाली र इण्डोनेसियामा अन्तर्राष्ट्रिय पर्यटक आउने अवस्था रहेको छैन ।’ बाली विदेशी पर्यटकका लागि कहिले खुल्छ भनेर बयानमा नभनिए पनि ‘सन् २०२० को अन्त्यसम्म खुल्ने छैन’ । गभर्नरले बाली द्वीप फेरि खुलाउन विवेकपूर्ण र सावधानीपूर्वक तयारी गर्नुपर्ने बताउनुभएको छ । हतारमा निर्णय गरिँदा द्वीपको प्रतिष्ठामा ठेस पुग्ने र ठूलो क्षति पुग्ने जनाउनुभएको छ ।  

बालीमा कोरोना संक्रमितको संख्या चार हजार पाँच सयभन्दा धेरै पुगेको छ र ५२ जनाको ज्यान गएको पुष्टि भएको छ । पूरै इण्डोनेसियामा अहिलेसम्म एक लाख ५५ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ६ हजार सात सय ५९ जनाको ज्यान गएको छ । विशेषज्ञहरूका अनुसार धेरै मात्रामा परीक्षण भए यो आँकडा अझ बढ्न सक्छ ।

बालीको राजधानी देनपसानमा रहेको एक होटलका महाप्रबन्धक पुटु गेदे बुदिर्टा कोरोना भाइरसको संक्रमण र यात्रामा लागेको प्रतिबन्धका कारण पर्यटन उद्योगमा गम्भीर प्रभाव परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘हामीकहाँ धेरैजसो पर्यटक बाहिरबाट आउँछन् । यो एक कठिन समय हो । यसले आम्दानीमा पनि असर पुगेको छ ।’ उहाँ जुन होटलमा काम गर्नुहुन्छ, त्यहाँ अहिले आधाभन्दा कम स्थानीय पर्यटक छन् । साथै ग्रामीण क्षेत्रमा चलाइएको एक गेष्ट हाउस केही महिनादेखि खाली छ ।