बुबाको मुख हेर्ने दिन–कुशे औंसी– पितृसम्मान दिवस

काठमाडौं । हरेक वर्ष भाद्र कृष्ण औंशीका दिन मनाइने बुबाको मुख हेर्ने दिन–कुशे औंसी–पितृसम्मान दिवस बुधबार मनाइँदै छ । आजको दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याइन्छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रही आएको छ । सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्ने गर्दछन् । 

आजको दिन छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने प्रचलन रहीआएको छ । यसदिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्दछ । तर, यो वर्ष भने कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण मन्दिर परिसरमा मेला बन्द गरिएको छ । 

गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्दथ्यो विगतका वर्षहरूमा । यसैगरी रसुवाको वेत्रावतीमा पनि भक्तजनको भीड लाग्ने गर्दथ्यो । त्यहाँ पनि यो वर्ष बन्द गरिएको छ । यस्तै देशका अन्य तिर्थ तथा धार्मिकस्थलहरू पनि कोरोना संक्रमण फैलिने डरले बन्द गरिएका छन् । 

‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्छ भन्ने धार्मिक विश्वास रहीआएको छ । जन्म दिने आमा बाबु र शिक्षा दिने गुरुलाई वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले जीवित देवताका रूपमा मान्ने गर्दछन् ।