काठमाडौं । नेपाल डिष्टिलरिज् प्रालिद्वारा उत्पादित नेपाली रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतियोगितामाअन्तर्गत रम समूहमा ९४ अंक हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएको छ । यसअघि खुकुरी रमले अन्तर्राष्ट्रिय रम उत्सवमा जितेको पुरस्कारसँगै अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेको अर्को पुरस्कार हो ।
जुलाई ६ तारिखमा लण्डनमा आयोजित लण्डन स्पिरिट्स प्रतियोगितामा खुकुरी थ्री एक्स रम स्वर्ण पदकद्वारा पुरस्कृत भएको कम्पनीले जनाएको छ । प्रतियोगितामा ३ विधा गुणस्तर, गुणवत्ता र प्याकेजिङका दृष्टिकोणमा मदिरा उद्योगका ख्यातिप्राप्त दक्ष निर्णायकले अन्य उच्च तहका प्रतिस्पर्धी रमको दाँजोमा नेपाली रमलाई १ सयमध्ये कुल ९४ अंक प्रदान गरेर खुकुरी रम विश्वव्यापी रूपमा मान्यताप्राप्त रम भएको छाप लगाइदिएका थिए । नेपाल डिस्टिलरिजका कार्यकारी प्रमुख कृष्णकुमार चुरिवालाले वास्तविक नेपाली ब्राण्डका रूपमा पुरस्कार ग्रहण गर्न पाउँदा अत्यन्त गौरव महशुस भएको बताउनुभएको छ ।



















