काठमाडौं । राजधानीलाई हब बनाउँदै कोरोना संक्रमण उच्च रुपमा बढ्न थालेपछि निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकामा बुधबार मध्यरातदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा भदौ १० गते मध्यरातिसम्म रहने छ ।
दैनिक रूपमा कोरोना संक्रमण संख्या बढ्दै गएपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख उपस्थित बैठकले १० भदौसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने बताइएको छ । जसअनुसार उपत्यकामा चल्दै आएका सार्वजनिक यातायातका साधन पनि बन्द हुनेछन् । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।
उपत्यकामा पछिल्लो केहीदेखि दैनिक रूपमा एक सयभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । मन्त्रिपरिषदको सोमबारको बैठकले जिल्ला प्रशासन र स्थानीय प्रशासनलाई निषेधाज्ञालगायतका आवश्यक कामकाज जिम्मेवारी दिएको थियो । बैठकले संक्रमण रोग ऐन, २०२० बमोजिम कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिएको थियो ।
विश्वभरी फैलिएको कोरोना महामारी नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेदेखि साउन ६ गतेसम्म लकडाउन गरेको थियो । कोरोना संक्रमण उकालो लागि रहेकै समयमा देशको अर्थतन्त्र र नागरिकको दैनिकी केही सहज गराउन भन्दै सरकारले साउन ६ गतेबाट औपचारिक रुपमा लकडाउन अन्त्यको घोषणा ग¥यो ।
लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्यो । फलस्वरुप नेपालमा कोरोना संक्रमितको दर ह्वात्तै बढ्न गएको थियो ।




















