नेपाली कांग्रेसको सभापतिमा विमलेन्द्र निधिको दाबी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न चौधौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने जानकारीका साथ पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्रसँग सहयोगका लागि प्रस्ताव गर्नुभएको छ । निधिको पारिवारिक सूत्रकाअनुसार शुक्रबार देउवासँगको भेटमा निधिले चौधौं महाधिवेशनमा सभापति सर्वसम्मत चयन गर्नुपर्ने आवश्यकता रहेको हुनाले सम्भव भएसम्म पार्टीका साथीहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

कम्युनिष्ट पार्टीको वर्चश्वलाई तोड्नुपर्ने, राष्ट्रलाई उचित गति दिनुपर्ने, प्राप्त राजनीतिक उपलव्धिहरुलाई संरक्षण गर्दै आर्थिक विकास गर्नुपर्ने समयमा नेपाली कांग्रेस सशक्त, सुदृढ र एकताबद्ध हुनुको विकल्प नरहेकोमा निधिको जोड रहेको छ । नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणालीप्रति प्रतिबद्ध गराउनु, नेपाली कांग्रेसमा तिनीहरूको आकर्षण र सहभागिता विस्तार गर्नु, रोजगारमुखी उद्यमशील युवापुस्तालाई सक्रिय गराउँदै पार्टीमा सबै पुस्ताको समन्वय खोज्नु आजको आवश्यकता भएकाले उम्मेदवारी प्रस्तुत गरेको निधिले बताउनुभयो । 

हिमाल, पहाड, तराई मधेसको एकतालाई थप सबल बनाउन र आउँदो राष्ट्रिय निर्वाचनमा पार्टीलाई सबै क्षेत्रमा सशक्त रुपमा विजयी गराउने लक्ष्य कांग्रेसका लागि आगामी कार्यभार हुन पुगेको छ । देउवा र पौडेलले उहाँको उम्मेदवारीबारे नकारात्मक प्रतिक्रिया नदिएको निधिले हिमालय टाइम्सलाई बताउनुभयो । 

आगामी फागुनमा तय भएको कांग्रेसको चौधौं महाधिवेशनमा यसअघि वर्तमान सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा.शेखर कोइरालाले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । केन्द्रीय सदस्य गगन थापाको दाबीसमेत सभापतिमा सार्वजनिक भइसकेको छ । 

विमलेन्द्र निधिको उम्मेदवारीको सन्दर्भमा हिमालय टाइम्सको जिज्ञासामा गणतान्त्रिक नेपालका सम्माननीय प्रथम राष्ट्रपति डा. रामवरण यादवले निधिको उम्मेदवारी स्वाभाविक भएको टिप्पणी गर्नुभयो । डा. यादवले भन्नुभयो, ‘लोकतान्त्रिक आन्दोलनमा करिब ५० वर्षदेखि निरन्तर सक्रिय भई संघर्षबाट आएको हुनाले विमलेन्द्र निधिको सभापति पदको उम्मेदवारी स्वाभाविक र सकारात्मक छ ।’

अहिंसा, शान्ति, सामाजिक न्याय, समुदायबीच सद्भाव र लोकतन्त्रका आजीवन अभियन्ता महेन्द्रनारायण निधिका सुपुत्र विमलेन्द्र निधि करिब १३ वर्षको उमेरदेखि नै आफ्नो परिचयका साथ नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्छ । नेपालको शीर्ष पंक्तिको नेतृत्वमा देउवा र पौडेलपछि निधि नै सर्वाधिक निरन्तर रहेको हुनाले पनि उहाँको उम्मेदवारीलाई स्वाभाविक देखिएको छ । ६० बर्ष उमेर समूहदेखि माथि र त्यसतलका उमेर पुस्ताको सेतुका रुपमा निधिको उम्मेदवारी विचार र आन्दोलनको निरन्तरतासमेत हुन सक्छ ।