उपत्यकाका २५ वटा ठाउँ सिल

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)को उच्च संक्रमण देखिएको छ । भाइरसको संक्रमण देखिएसँगै शुक्रबार उपत्यकाका २५ वटा ठाउँ सिल गरिएका छन् । कोरोना भाइरसको संक्रमण उपत्यकामा फैलिँदै गएपछि उपत्यकाका मुख्य ठाउँहरू असन, न्युरोड, रञ्जना गल्ली, भोटाहिटी, इन्द्रचोकलगायतका ठाउँमा सिल गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

‘काठमाडौंका कोर ठाउँहरू कोरोनाभाइरसको संक्रमण देखिएपछि अहिले सिल भएको अवस्था छ,’ महानगरपालिकाका प्रवक्ता इन्द्रमान डंगोलले हिमालय टाइम्सलाई भन्नुभयो । काठमाडौं महानगरपालिका– २१ अन्तर्गतका भोटेबहाल, लगनटोल, कुमारीगल पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि सिल गरिएको छ । यस्तै २२ नम्बर वडाको रञ्जना गल्ली, भोसेको (रञ्जना गल्लीको उत्तरपट्टि), ओटो, गुँचाटोल र २७ नम्बर वडाको भोटाहिटी, न्युरोड सबै, इन्द्रचोक, मखन टोललगायतका ठाउँहरू सिल गरिएको प्रवक्ता डंगोलले बताउनुभयो । सिल गरको ठाउँमा अत्यावश्यक कामबाहेक अन्य कसैलाई पनि आवत–जावत गर्न रोक लगाइएको छ । सिल गरिएका क्षेत्रमा कोरोना भाइरसको परीक्षण भइरहेको प्रवक्ता डंगोलले जानकारी गराउनुभयो ।

यस्तै कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपत्यकाभित्र काठमाडौं जिल्लामा पाँच, ललितपुर र भक्तपुर जिल्लामा चार÷चार वटा अनुगमन टोली परिचालन गरी अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको छ । यस्तै प्रकारको अनुगमन टोली परिचालन गरी साप्ताहिक कार्य प्रगति पठाउन अन्य जिल्लालाई समेत निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म मास्क प्रयोग नगरी हिँड्ने चार लाख १९ हजार बढीलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ । अनुमति बिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने सात हजार ६३५ वटा सवारी साधन तथा अनुमति बिना उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार ४८३ यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको  छ । 

यसैबीच, काठमाडौं, भक्तपुर र ललितपुरको शुक्रबार बसेको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म यी क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय र सेवा सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले खुल्ला स्थानमा मानिस भेला, जम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्यपूजाबाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरीतका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यसम्बन्धी जमघट लगायतलाई निषेध गरिएको बताउनुभएको छ । त्यस्तै सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको दाहालले जानकारी गराउनुभयो । 

संयुक्त सुरक्षा बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापार र व्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्डविपरीत श्रमिक र कामदार ओसार–पसार तथा ‘टेकवे’बाहेक होटल र रेस्टुराँमा पनि जमघट गर्न प्रतिबन्ध लगाएको छ । निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्न आवश्यकताअनुसार प्रशासनको टोली अनुगमनमा खटिने पनि प्रजिअ दाहालले बताउनुभयो । उपत्यकाका तीनवटै प्रशासनले यसअघि साउन २५ गतेदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिसकेका छन् । 

यसैबीच, शुक्रबार थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा भएको पिसिआर परीक्षणमा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ५५१ जना पुगेको छ । 

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १७ हजार ७७ उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार शुक्रबारसम्म पिसिआर विधिबाट चार लाख ९४ हजार ६१३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ५७५ पिसिआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टिनमा १४ हजार ६३८ जना रहेका छन् । त्यसै गरी आइसोलेसनमा रहनेको संख्या सात हजार ९१३ रहेको छ । पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा संक्रमितको संख्या पाँच सयभन्दा बढी पुगेको छ । त्यसै गरी संक्रमित शून्य भएका जिल्ला संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । मोरङ र सिरहाका एक÷एक तथा बाराका दुई जनाको गरी चार जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । प्रदेश अनुसार कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रदेश–२ मा मृत्यु भएको छ । प्रदेश–१ मा नौं जना पुरुष, प्रदेश–२ मा ३१ पुरुष र महिला ११ गरी ४२ जना, वागमती प्रदेशमा १३ पुरुष र पाँच महिला गरी १८ जना, गण्डकी प्रदेशमा ६ पुरुष, प्रदेश–५ मा नौं पुरुष र तीन महिला गरी १२ जना, कर्णाली प्रदेशमा चार पुरुष र सुदूरपश्चिम प्रदेशमा पाँच पुरुष र तीन महिला गरी आठ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा ११८ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा पाँच जना कोरोना संक्रमित थपिएका हुन् । योसहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १६९७ पुगेको छ । काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ संक्रमित पुष्टि भएका छन् ।