कालिकोट । शुभकालिका गाउँपालिका –.४ मुग्राहाका २५ वर्षीय पंखबहादुर बिकलाई सोही ठाउँका २३ वर्षीय अर्जुन शाही, २२ वर्षीय कमल शाही, १९ वर्षीय युवराज शाही लगाएतको समुहले जातीय विभेद गदै कुटपिट गरेका छन् ।
धार्मिक परम्परा अनुसार शुभकालिका गाँउपालिका –७ स्थित मच्छेवाडीमा धबलपूरा देबताको पुजा गर्न मन्दिरभित्र प्रवेश गर्न खोज्दा साउन २६ गते कुटपिट गरिएको पीडितले इन्सेक कालिकोटलाई बताउनु भयो ।
आरोपीहरुले मन्दिरमा जाने भन्दै बाटो छेकी जातीय विभेद गर्दै ढुङ्गा र दाउराले कुटपिट गरि भिरबाट खसालिएको पीडितको आरोप रहेको छ ।
पीडकहरुको कुटाइबाट पीडितको दायाँ खुट्टा र घाँटीमा गम्भीर चेट लागेका कारण जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको जिल्ला अस्पताल कालिकोटका सूचना अधिकारी कटक महतले इन्सेकलाई बताउनु भयो ।
जातीय छुवाछूत गरि कुटपिट गरेको अभियोगमा आरोपी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यलयमा साउन २९ गते दर्ता गराउनु भएको छ ।
घटनाका वारेमा कालिकोटका प्रहरी प्रमुख डिएसपी श्याम ओलियाले जातीय बिभेदको मुद्दा दर्ता भएको र घटनामा संलग्न व्याक्ति फरार रहेका कारण खोजतलास खोजि कार्या जारी रहेको बताउनु भयो ।




















