महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस न्यूनिकरणका लागी सरकारले गरेको लकडाउनको १ सय ५ दिनको अवधिमा सुदूरपश्चिम प्रदेशमा १ सय ८० जनाले आत्महत्या गरेका छन् ।
गत चैत ११ गतेदेखी असार २२ गतेसम्म प्रदेशका नौँ जिल्लाका १ सय ८० जनाले आत्महत्या गरेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चैत ११ गते देखी असार २२ गते सम्म १ सय ५ दिनमा सुदूरपश्चिम प्रदेशमा १ सय ८० जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय डोटीका प्रवत्ता एवंम प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहले बताउनु भयो । उहाँकाअनुसार प्रदेशमा महिला भन्दा बढी पुरुषले आत्महत्या गरेका छन् ।
उहाँका अनुसार ‘लकडाउनको १ सय ५ दिनको अवधिमा प्रदेशमा ९७ जना पुरुष र ८३ जना महिलाले आत्महत्या गरेका छन् ।’ प्रहरी बरिष्ठ उपरिक्षक सिंहकाअनुसार आत्महत्या गर्नेहरुमा लकडाउनका कारण आर्थिक समस्यामा परेका,बेरोजगार बढी रहेका छन् । उहाँले भन्नुभयो, ‘आर्थिक समस्यामा परेका औषतमा ३० देखी ५० उमेर समुहकाले बढी आत्महत्या गरेका छन् ।’ प्रदेश प्रहरी कार्यालयको तथ्याङकअनुसार आत्महत्याको दर हेर्दा प्रदेशका दुर्गम जिल्लाको तुलनामा सुगम जिल्लामा बढी छ । चैतको ११ गतेपछि कैलालीमा सबैभन्दा बढि ४१ जना पुरुष र २१ महिला गरी ६२ जना, कञ्चनपुरमा २५ पुरुष र १७ महिला गरी ४२ जना, बैतडीका चार पुरुष र १२ महिला गरी १६ जना, डोटीका ६ पुरुष र ८ महिला गरी १४ जना, अछाममा ८ पुरुष र ४ महिला गरी १२ जना, डडेल्धुराका ७ पुरुष र ५ महिला गरी १२ जनाले आत्हत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै दार्चुलाका ४ पुरुष र ५ महिला गरी ९ जना, बझाङका ७ महिला, बाजुराका २ पुरुष र ४ महिला गरी ६ जनाले आत्महत्या गरेका छन् ।
सबैभन्दा बढी झुन्डिएर ७८ पुरुष, ६४ महिला गरी १ सय ४२ जना, विष खाएर १५ पुरुष, १७ महिला गरी ३२ जना, पानीमा हाम फालेर २ जना पुरुष, आगो लगाएर एक पुरुष,हाम फालेर एक पुरुष,एक महिला गरी २ जना,हात हतियार औजारबाट एक महिलाले आत्महत्या गरेका छन् । लकडाउनको अवधिमा आत्महत्या गर्ने दर पहिलेको तुलनामा औषतमा बढेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताउनु भयो । प्रदेश प्रहरी कार्यालयको तथ्याङक अनुसार गत आर्थिक वर्ष २०७५÷०७६ को चैत १ गते देखी असार ३१ गते सम्म १ सय २४ दिनमा सुदूरपश्चिम प्रदेशमा १ सय ९३ जनाले आत्महत्या गरेका थिए । आत्महत्या न्यूनिकरणका लागि प्रहरीले प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामुलक कार्यक्रम गर्दै आएको एसएसपी सिंहले बताउनु भयो । सरकारले पनि जनाताको कम्तिमा गाँस,बास,कपासको पूर्ति,जनचेतना मुलक कार्यक्रम गर्ने हो भने आत्महत्या न्यूनिकरणमा सहयोग पुग्ने एसएसपी सिंहले जोड दिनु भयो ।




















