बेलारुसमा प्रदर्शनकारी र दंगा प्रहरीबीच भिडन्त

बेलारुस । सरकारी टेलिभिजनले गरेको मतदान पछिको मत सर्वेक्षणले लामो समयदेखिका नेता एलेक्जेन्डर लुकाशेन्का पुनः निर्वाचित हुने देखाएपछि बेलारुसको राजधानी मिन्स्कसहित विभिन्न शहरमा प्रदर्शनकारी र दंगा प्रहरीबीच भिडन्त भएका छन् ।

एजेन्सीहरूका अनुसार मिन्स्कमा सिटी सेन्टरबाट भीड हटाउन प्रहरीले स्टन ग्रिनेडहरू प्रयोग गरेको छ । त्यहाँ मानिसहरू घाइते भएको खबर आएको छ । सरकारी टेलिभिजनको जनमत सर्वेक्षणले लुकाशेन्का करिब ८० प्रतिशत मतले विजयी भएको देखाएको छ । 

प्रमुख विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले आफूलाई सात प्रतिशत मात्र मत दिइएको देखाएको उक्त विवरणलाई आफूले नपत्याउने बताउनुभएको छ । ‘म मेरा आँखामा विश्वास गर्छु र मैले बहुमत हामीसँग देखेकी छु,’ पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो । विपक्षीहरूले मतदानमा धाँधली हुनसक्ने ठानेको र आफूहरूले एउटा वैकल्पिक गणना पनि राखेको बताएका छन् ।

३७ वर्षीया तिखानोभ्स्काया जेलमा रहेका श्रीमान्को आफ्ना सट्टा चुनावमा उठनुभएको थियो र उहाँले ठूला विपक्षी ¥यालीहरूको नेतृत्व गर्नुभएको थियो । सन् १९९४ देखि सत्तामा रहेका लुकाशेन्काले देशको स्थिति नियन्त्रणमा रहने वाचा गर्नुभएको छ । त्यहाँको राजधानीमा गत महिना दशकयताकै विपक्षीहरूको सबैभन्दा ठूलो प्रदर्शन भएको थियो । मे महिनामा चुनावी अभियान सुरु भएयता दुई हजारभन्दा बढी मानिस पक्राउ परेको मानवअधिकारवादी संस्थाले उल्लेख गरेका छन् ।