नुवाकोट । गत आईतबार मध्यरातमा बिदुर नगरपालिका वडा नम्वर १० को गेर्खुखोला स्थित पात्लेखोलाले बगाएर ल्याएको गेग्रयानसहितको भलपानी बस्तीमा पस्दा १० घर उच्च जोखिममा परेको छ । अविरल बर्षाका कारण भल नियन्त्रणको प्रयास सफल हुन नसक्दा उक्त क्षेत्रका १० घरका बासिन्दाहरुलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण नगरिए समस्या अझै जटील बन्न सक्ने स्थानीयहरुको भनाई छ ।
स्थानीय बासिन्दा अशोक धमलाका अनुसार वडा नम्वर ११ को माझगाउँबाट भीरतर्फ झारिएको नालीका कारण केहीतल जंगलमा पहिरोगई खोलाले गेग्रयान सहितको भल ल्याउँदा गेर्खुखोला क्षेत्रका ४० घरमध्ये १० घर उच्च जोखिममा परेको छ । धमलाका अनुसार भलका कारण स्थानीयहरुले करिब १० रोपनी क्षेत्रफलमा लगाएको धान खेती समेत पूर्ण रुपमा नष्ट भएको छ भने बर्षाहुनासाथ स्थानीयहरु डर र त्रासका बिच दिन कटाईरहन बाध्य भएका छन् ।
पात्लेखोलाले बर्षेनी उक्त क्षेत्रमा समस्या सिर्जना गरिरहेको भएपनि समस्या समाधानमा राज्यको उचित ध्यान पुग्न नसकेको स्थानीय बासिन्दा एवं वडा नम्वर १० की वडा सदस्य शान्ति तमाङको भनाई छ । उनका अनुसार स्थानीयतहको प्रयासले मात्र उक्त क्षेत्रमा सुरक्षित बसोवासको अवस्था बन्न नसक्ने अवस्था देखिएकोले केन्द्र र प्रदेश सरकारले बिशेष ध्यान दिनु जरुरी भईसकेको छ ।
गेर्खुखोला क्षेत्रमा अहिले भलले बगाएको गेग्रयानहरुको बिशाल थुप्रो जम्मा भएको छ भने गेग्रयान हटाएर बस्ती सुरक्षित राख्ने बिदुर नगरपालिकाको प्रयास पनि निरन्तरको बर्षाका कारण सफल हुन सकेको छैन । मंगलबार उक्त क्षेत्रको अवलोकन गर्न पुगेकी बिदुर नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट उमप्रमुख पदको प्रत्याशी रहेकी गीता अमात्यका अनुसार उक्त क्षेत्रमा तत्काल करिब पाँचसय थान जाली आवश्यक भएको र भरपर्दो टेवा पर्खाल लगाएरमात्र बस्ती सुरक्षित हुन सक्छ भने उच्च जोखिममा रहेका १० घरलाई तत्काल स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।





















