नाकामा प्रहरीको कडाइ, तर पनि संक्रमित बढ्ने क्रम रोकिएन

काठमाडौं । विगत चार महिनादेखिको ‘लकडान’ बन्दाबन्दी केही खुकुलो भएसँगै फेरि कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकामा पनि कोरोना भाइरसका संक्रमितको संख्या विगत एक दुई दिनमा ह्वात्तै बढेको छ । उपत्यकामा संक्रमितको संख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरूमा चेकजाँचमा कडाइ गर्न थालिएको छ ।

सरकारले बन्दाबन्दी केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरूको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाब संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाइ गरेको छ । यतिवेला उपत्यका प्रवेश पास नभएका सवारीसाधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाउन थालेको छ । यसअघि नाकासम्म एउटा सवारीसाधनमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरूलाई पनि रोक लगाइएको छ । प्रहरीले पैदल हिँडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुहरू सबैलाई फर्काउनका थालेको छ । उपत्यका छिर्ने साँगा नाकामा बुधबार मास्क नलगाएका लाई पनि प्रहरीले कारबाही गरेको छ भने पास नभएका गाडीहरूलाई फिर्ता पठाइएको छ । यस्तै, नागढुंगा नाका हुँदै दैनिक चार देखि ६ सयसम्म सवारीहरू भित्रिने गरेका छन् । उपत्यकामा नागढुंगा, साँगा र फर्पिङ हुँदै हजारौँ नागरिक प्रवेश गरिरहँदा जोखिम बढेको निष्कर्ष सहित सरकारले प्रवेशमा कडाइ गर्न थालेको छ । 

मंगलबार मात्रै उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए भने बुधबार पनि ६२ जना नै संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित मिडिया ब्रिफिङमा काठमाडौंका ५७ जना र ललिपुरका पाँच जनामा कोरोना संक्रमित देखिएको बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक जना र काठमाडौंका १४ जनामा कोरोना देखिएको छ ।

प्रवक्ता डा. गौतमका अनुसार बुधबार ३८१ थप कोरोना संक्रमित थपिएका छन् । ६ हजार ३५९ पिसिआर परीक्षणमा ३८१ जना संक्रमित थपिएका हुन् । बुधबारसम्म पिसिआर विधिबाट ४ लाख १२ हजार ९५३ जनाको कोरोना परीक्षण भएको छ । बुधबार १३० जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण जितेर घर फर्किनेकोे संख्या १५ हजार १५६ पुगेको छ । 

हाल देशका विभिन्न क्षेत्रमा कोरोना संक्रमण उच्च हुँदै जाँदा जिल्ला र स्थानीय तहहरूमा लकडाउन र निषेधाज्ञा जारी छ । सरकारले देशमा कोरोना संकमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर बन्दाबन्दी गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र स्थानीय तहलाई दिएसँगै जिल्ला र जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । यतिवेला देशका विभिन्न १४ वटा जिल्लामा लकडाउनको घोषणा गरिएको छ । कोरोनाको संक्रमण फैलिँदै गएपछि धरान उपमहानगरपालिकाले बुधबार राति १२ बजेदेखि सात दिन लकडाउन गर्ने निर्णय गरेको छ । यस्तै प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधाममा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ । सप्तरीमा पनि जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरि सात दिनको लागि निषेधाज्ञा आदेश जारी गरेको छ । 

सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा गरिएको छ । यस्तै, सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा जारी गरिएकोे छ ।

दार्चुलाको मार्मा गाउँपालिका, झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८, महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, नुवाकोटको सदरमुकाम क्षेत्र, बझाङको थलारा गाउँपालिका–५ र केदारस्यू गाउँपालिका ६ र ७ मा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी दिनुभएको छ । उहाँको अनुसार पर्सा वीरगञ्जकी १८ वर्षकी युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । त्यसैगरी, वीरगञ्ज ११ बस्ने ४६ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा थप सजगता अपनाउनुपर्ने देखिन्छ । यसको संक्रमणलाई नियन्त्रण रोकथामका उपायहरू अवलम्बन नगर्ने हो भने यसले भयावह स्थिति उत्पन्न नहोला भन्न सकिन्न । त्यसैले समयमै यसको रोकथाम र नियन्त्रका लागि सुरक्षाका विभिन्न उपाय कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ ।