सुजनको रोडिज जित्ने सपना पूरा

काठमाडौं, २१ साउन । लोकप्रिय टेलिभिजन सो ‘हिमालय रोडिज–३’का विजेता सुजन सुवेदीले १० लाख रुपैयाँ र यामाहा बाइक पुरस्कार पाउनु भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच विजेता सुजनलाई हिमालय टेलिभिजनमा प्रमुख धर्मराज भुषालले पुरस्कार हस्तान्तरण गर्नुभयो । 

सुजनले पुरस्कार ग्रहण गर्दै विजेता बन्न पाएकोमा आफू खुशी रहेको बताउनुभयो । ग्यांग ग्रीनअन्तर्गत लाउरेको टिममा रहेका सुजनले अडिसन, कलिङ र जर्नी राउण्ड हुँदै फाइनलमा उपाधि जित्नु भएको हो । 

कार्यक्रमपछि मिडियासँग कुरा गर्दै सुजनले यो खुशीको क्षणमा आफ्नो परिवारलाई सम्झिनुभयो । घरमा बाबाआमाको खुशीको आँशु देख्न नपाएकोमा भावुक बन्नु भएको थियो । ‘अहिले घर जान पाएको छ छैन, फोनमा म विजेता भएँभन्दा खुशीले रुनुभएको थियो’, सुजनले भन्नुभयो ।

अमन प्रताप अधिकारीले निर्देशन गर्नु भएको यो सो ४ महिनासम्म चलेको थियो । लकडाउनले गर्दा १५औं एपिसोडमा पुगेर रोडिजको प्रशारण रोकिएको थियो । लकडाउन खुलेपछि हिमालय टिभीमा रोडिजको प्रशारण सुरु भएको थियो भने १८औं भागमा यसको फाइनल सम्पन्न भएको हो । 

सुजनलाई विजय भएपछि पाएको रकमले के गर्न मन छ भन्ने प्रश्नमा परिवारको औषधोपचार गर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘अन्य काम गर्नेभन्दा मेरो लागि ठूलो आमाबाबा हो, त्यसैले उहाँहरूको स्वास्थ्यमा खर्च गर्छु ।’ सुजनले बाबाआमा पोखरा रहेकाले विजयी भएर पाएको मोटरसाइकल र रकम आमाको हातमा राख्दिने इच्छा भएको बताउनुभयो । हिमालय रोडिज साहसिकहरूको खेल मान्ने गरिन्छ । सो मा जजले दिएको काम प्रतियोगीले पूरा गर्नुपर्ने हुन्छ ।