सामाजिक विभेदको सिकार दलित समुदाय

समता र समानताको सर्वाव्यापक सिद्धान्तको पालनाका लागि विश्वभरका सबै तहका मानव एकाइलाई सक्रिय पार्ने जमर्काहरू विश्वव्यापी हुने गर्दछन् । प्राकृतिक विज्ञान तथा समाज विज्ञानका क्षेत्रमा भएका यी प्रगतिले समतामूलक विश्वपरिवेश र मानवप्रगतिको आदर्श स्थापना गरेर यस देशमा केही जमर्को गरे पनि विश्वका अनेक समाज, समुदायमा समानताविरोधी विविध खालका मूल्यमान्यता र व्यवहार कायम छन् । लैंगिक, जातीय उत्पति वर्ण, जात र जन्मका आधारमा आज पनि मानिसहरू समान हैसियत र समान सामाजिक तथा सार्वजनिक अवसर पाउनबाट वञ्चित पारिएका छन् । 

जन्म र जातको आधारमा गरिने यस्ता असमान व्यवहारमध्ये छुवाछूतको विभेदपूर्ण र विकराल समस्या अहिले पनि समाजमा पर्याप्त छन् । आर्यसामाजिक पृष्ठभूमिमा विकास भएको हिन्दू धर्मको कट्टरतावादी सांस्कृतिक परम्पराको प्रभाव खासगरी नेपाललगायत दक्षिण एसियाका केही राष्ट्रहरूमा जातगत छुवाछूतको समस्या चर्को छ । नेपालमा यो समस्या विद्यमान छ । 

राजनीतिक घटना परिवर्तनको क्रममा राज्यका नीतिनिर्माताद्वारा चर्का चर्का बहसहरू भए र यस भेदभावपरक सामाजिक विकारको अन्त्यका लागि कानुनी, राजनीतिक, सामाजिक, तथा धार्मिक अनेक प्रयासहरू गर्ने नीतिनियम निर्माण भएका छन् । यति हुँदाहुँदै एक प्रमुख समस्याको रूपमा यसले नेपालको दलित समुदायमाथि कठोर अन्याय थोपरेको छ । 

प्रदेश २ मा दलित समुदाय अहिलेको कोरोना कहरकै विषम परिस्थितिमा पनि आन्दोलित छन् । मधेस आन्दोलनमा सबैभन्दा बढी सक्रिय भूमिका निर्वाह गर्ने समुदाय नै दलित हो । अनेकौं अज्ञात र असम्भव अवसर तथा स्वतन्त्रताका झुटा सपनाहरू देखाउँदै मधेस आन्दोलनका केही नायकहरूले सोझासाझा दलित समुदायको बलबुतामा आन्दोलन सम्पन्न गरेका थिए । तर, अहिले तिनै दलित समुदायका युवाहरू अनाहकमा ज्यान गुमाउँदै छन् । पुलिस प्रशासनको मातहतमै एक युवा शम्भु सदाले आत्महत्या गरे । पुलिस प्रशासन समाजको सुरक्षा दिने निकाय हो तर समाज एवं परिवारका पालनकर्ता युवाको यसरी मृत्यु भयो । शम्भु सदाले कहाँबाट न्याय पाउने हुन् ? यो प्रश्नको जवाब खोज्दैछ दलित समुदाय । 

यस्तै अर्को कहालीलाग्दो तथा हृदयविदारक घटना हो राजु सदाको । पानीबिना ज्यान गुमाउनु प¥यो राजु सदाले । जुन देश जलस्रोतको धनी देश हो भनिन्छ यही यस्तो । यस्तै भोको पेट ज्यान गुमाउनुप¥यो अर्का एक युवक मलर सदाले जसको आफ्नो परिवार पाल्ने दायित्व थियो र श्रम गरेर उक्त जिम्मेवारी निर्वाह गर्दै थिए । तर, विधिको विडम्बनाले उनको रोजीरोटी खोसियो र उनले पनि भोको पेटका कारण ज्यान गुमाउनु प¥यो । 

दलित समुदायमा बढ्दो हत्याहिंसाका कारणले गर्दा अहिले आन्दोलित हुनुपरेको छ । मधेस आन्दोलनका अगुवाहरू अहिले राज्यसत्तामा लिप्त छन् । यो कस्तो राज्यसत्ताको नशा हो जहाँ पुग्नेबित्तिकै सबै नेताहरू आफ्नो धरातल बिर्सिन्छन् । प्रदेश २ मा त्यस्तै अर्को दलित समुदायलाई नै कुठाराघात हुनेगरी गर्न खोजिएको अन्यायपूर्ण कार्य हो सुकुम्बासी बस्ती खाली गराउने निर्णय । जनकपुरधाममा दलित तथा सुकुम्बासी बसोबास गर्दै आएको जग्गा खाली गराउन स्थानीय केही वर्ग लागिपरेका छन् । 

जनकपुरधाम वडा नं १ धर्मस्थान टोलमा युगौंदेखि दलितहरू बसोबास गर्दै आएका छन् । त्यहाँ सडक विस्तारको क्रममा दलितहरूका घर भत्काउने र तिनलाई उक्त ठाउँबाट विस्थापित गर्ने योजना स्थानीय तथा प्रदेश सरकारको रहेको छ । 

दलित समुदायको काँधमा बन्दुक राखेर फोहोरी राजनीति गरिँदैछ । राजनीतिक दलहरूले राजनीतिक उद्देश्य पूर्तिको निम्ति दलित समुदायलाई आशा र भरोसा दिए तापनि दलितले न्याय पाउन सकेका छैनन् । 

दलित हित र अधिकारका लागि लड्ने र लड्दै छु भन्नेहरूले झनै दलित समुदायको शोषण गरेको देखिन्छ । यस्तो जातीय विभेदका कारण पिछडिएको समुदाय दिनाप्रतिदिन शोषित छ, पीडित छ । असहनीय मानसिक पीडाले छट्पटिइरहेको छ तर न्यायको मन्दिरमा सधैंभरि त्यस्तो वर्गका लागि फलामे ढोका लगाएर बन्द गरेको हुन्छ । शम्भु सदा, राजु सदा, मलर सदा र विस्थापित दलित समुदायले न्याय पाउने गरी दलित अगुवाहरू आन्दोलित भएका छन् । प्रदेश सरकार र स्थानीय सरकारले अविलम्ब न्यायिक कदम उठाउनुपर्ने देखिन्छ । 

मधेस आन्दोलनमा सहिद हुने पनि धेरै जसो दलित समुदायकै मानिस नै थिए । वीर सहिदहरूले बगाएको रगतको नदीबाट पखालिएर अहिले प्रदेश २ को सरकार बनेको छ । तर, प्रदेश सरकार मुख्यमन्त्री, मन्त्रीहरू सबै अहंकारले भरिएर सामन्तवादी सोचमै शासन सत्ता चलाइरहेका छन् । सीमित सुविधाभोगीबाहेक अरूले मधेस आन्दोलनको फल उपभोग गर्न पाएका छैनन् । 

संविधानमा विभेदरहित समाजको निर्माण भन्ने वाचा गरियो, सबै समुदायको समावेशी र समानुपातिक सहभागिताको जिकिर गरियो तथा दलित आयोगकै गठन पनि भयो तर यी सबै किताबमै सिमित रहे । अहिले काठमाडौं र जनकपुरका शासकको नाच, गीत र संगीत मिल्दोजुल्दो भएको छ । प्रदेश २ मा मधेसी दलित मतलाई कसरी आफ्नो पक्षमा पार्ने भनी अनेक कर्तुत गरिरहेका छन् । दलित जनसंख्यालाई केवल चुनावी प्रयोजनमा मात्र उपयोग गर्ने गर्दछन् ।

तर, अबका दलित समुदाय यस्ता ठग राजनीतिकर्मीहरूको नकाब उतार्ने गरी एकीकृत हुँदैछन् । दलित समुदाय नै आन्दोलित भएको छ र उनीहरू संघर्षको माध्यमबाट पीडित परिवारलाई न्याय र अधिकार दिलाउनेगरी प्रदेश २ जनकपुरमा सडक र सदन तताउने गरी अगाडि बढ्दैछन् । 

दलितहरूलाई विभेद गरिने क्षेत्र एउटामात्रै छ । हाम्रो सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक सम्पूर्ण क्षेत्रमा विभेदजन्य स्थिति छ । जसका कारण दलितहरू चौतर्फी रूपमा दमित छन् । 

देशको हरेक प्रजातान्त्रिक आन्दोलन तथा हरेक ठूला पार्टीको विकास र विस्तारमा दलितहरूको सहभागिता र महत्वपूर्ण भूमिका रहँदै आएको छ । वर्तमान राजनीतिक पार्टीहरूको केन्द्रीय समितिको बनावटलाई हेर्ने हो भने नातावाद, कृपावाद र पँुजीपतिवादमा निर्मित भएको देखिन्छ । मधेसी समुदाय आफैं राज्यको विभेदीकरणको चपेटामा परे तापनि मधेसी समुदायभित्रै पनि केही उच्च वर्गले दलितहरूमाथि सामाजिक रूपमा निकै विभेद गरिएको स्थिति छ । 

छुवाछूत प्रथा सामाजिक कलंक हो । सामाजिक विभाजन र स्तरीकरणका लागि जातिपातिका आधारमा गरिने भेदभावजन्य क्रियाकलाप र परम्पराको ठूलो हात छ । सामाजिक जीवनका हरेक पाटाहरूमा दलितहरूमाथिको शोषण र भेदभाव अझै छँदैछ । दलितहरूमाथिको सामाजिक विभेद विभिन्न तह र क्षेत्रमा देखिने गरेको छ । 

असल समाजको निर्माण गर्न विभेदरहित सामाजिक प्राणी हुनुपर्छ । विभेदरहित समाज निर्माणका लागि तर्कहरूमात्र पर्याप्त हुँदैनन्, तर्कभन्दा माथि आस्था हुनुपर्छ र तर्कभन्दा बलियो प्रेम, सद्भाव र एकता हुनुर्पछ । प्रेम र सद्भाव समाजमा त्यति बेला सम्भव हुनेगर्छ जतिबेला न्याय र समानता स्थापित हुन्छ ।