अफ द रेकर्ड

महाकाली सन्धि गर्दा कालापानी क्षेत्र र महाकालीको मुहानको छिनोफानो नगरीकन राष्ट्रघाती कार्य गरे । अहिले आफ्नो सत्ता संकटमा परेको बेला लिम्पियाधुरासम्मको नक्सामा छुटेको भूभाग नेपालको नक्सामा व्यापक जनदबाबलाई थेग्न नसकी सामेल गरेपछि ओली आफूलाई राजा महेन्द्रपछिको राष्ट्रवादी नेता भएको दम्भमा परेका छन् । 

डबल नेकपाकाभित्रको पदीय भागबण्डाको कुकुरबिरालाको झगडाले उग्ररूप लिएपछि राम जन्मभूमिको मुद्दा अगाडि सारेर उनले आपूm लोकप्रिय बन्ने कोसिस गरे । जुन मुद्दा पुरातात्विक अनुसन्धानपछि सत्य ठहरे सार्वजनिक गर्न सकिन्थ्यो । श्रीलंकाले पनि रावणकोबारेमा विस्तृत अध्ययन गर्न पुरातात्विक विभागलगायत नागरिक उड्डयन विभागलाई समेत जिम्मा दिएको छ । उसलाई पनि शंका छ भोलि अरू कसैले रावणको राज्य आफ्नो भूभागमा थियो भनेर दाबी नगरोस् ।

मौसमी राष्ट्रवादी बन्न सजिलो छ तर सच्चा राष्ट्रवादी बन्न गाह्रो छ । ओलीलाई आफ्नो गल्तीमा पछुतो भए र उनी सच्चिएर राष्ट्रवादी भएको भए महाकाली सन्धि गर्नु गल्ती थियो, त्यो राष्ट्रघाती सन्धि हो, त्यसलाई हामी अब सच्चाउने छौँ भनेर जनतासँग माफी माग्नु पथ्र्यो । महाकाली सन्धिका पक्षमा देउवापछि बढी उफ्रिने ओली नै थिए । यो भन्दैमा उनीमात्र दोषी हुन् भन्न मिल्दैन । एमालेका तत्कालीन महासचिव माधव नेपाल पनि उत्तिनै जिम्मेवार छन् ।

मुलुकलाई भ्रष्टाचारको दलदलमा भास्ने, आर्थिक व्यभिचार, अनियमितता, कमिसन तथा माफियातन्त्रका संवाहक बनेका ओली कसरी राष्ट्रवादी भए ? क्रसर माफियाहरूलाई कायरबाही गरेका कारण तनहुँका सिडियोलाई माफियाको सिफारिशमा सरुवा गर्ने कसरी इमानदार हुन्छन् ? यसमा गृहमन्त्री थापा र रक्षामन्त्री ईश्वर पोखरेल पनि चोखा छैनन् ।

युवाशक्ति विदेशी पठाउन सुरु गरेको कांग्रेसको नीतिलाई निरन्तरता दिने कम्युनिष्ट सरकार कसरी राष्ट्रवादी हुन्छ ? मुलुकलाई आत्मनिर्भर बनाउन नसक्ने, मुलुकलाई विकसित र समृद्ध नबनाउँदासम्म कसरी राष्ट्रवादी ? नेपाललाई भारतीय विस्तारवादबाट मुक्त नगर्दासम्म कसरी राष्ट्रवादी ? स्वतन्त्र तथा स्वाभिमान राष्ट्र नबनाउँदासम्म कसरी राष्ट्रवादी ? 

नेपालभित्र रहेका सत्रवटा पेन्सन क्याम्पहरूलाई बन्द गरेर बैंकमार्फत पेन्सनको भुक्तानी गर्न इण्डियालाई भनेर पेन्सन क्याम्पहरू बन्द गराएर त्यहाँ रहेका इण्डियन सेनालाई इण्डिया फिर्ता पठाउन नसक्ने के को राष्ट्रवादी ? भूमिगत कालमा गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्छ भन्नेहरू पटकपटक सत्तामा गए, खै बन्द गरेको ? एमसिसी सम्झौता गर्न प्राण छाड्ने व्यक्ति के को राष्ट्रवादी ? 

राष्ट्रवादीले राष्ट्रवादी काम गर्नुपर्छ । ओलीले यी सबै समस्याहरूको समाधान गर्न सुरु गरे उनलाई उनको पार्टीभित्रको चण्डाल चौकडीले फाल्न सक्ने छैनन् । जनताले उनलाई साथ दिनेछ । त्यसमाथि इण्डियन मिडियाहरू पनि उनलाई हटाउने अभियानमा लागेका छन् । यहाँसम्म कि एउटा युट्युब च्यानलले त उनको हत्याका लागि रअलाई खटाइसकेको समाचार पनि प्रसारण गरेको छ । 

उनलाई नेपाली जनताले होइन कि इण्डियन मिडियाले नै राष्ट्रवादी बनाइरहेका छन् । जति उनीविरुद्ध फलाक्छन्, उनी त्यति नै राष्ट्रवादी देखिन्छन् । एमसिसी पक्षधर ओली अमेरिकाको प्रियपात्र हुन् । इण्डिया र अमेरिकाबीच अहिले मधुर सम्बन्ध छ । दुवै चीनविरोधी भएकाले उनीहरू नजिक आएका हुन् । इण्डियन मिडियाको ओलीमाथिको अत्यधिक प्रहार उनलाई सत्तामा टिकाइराख्ने इण्डोअमेरिकी नीति त होइन ? ओलीलाई फाल्न कम्मर कसेका पिके माधव गुट इण्डियाबाट प्रयोग भएका हुन् । 

सुरुमा समाजवादी बनेका बेनितो मुसोलिनी पछि गएर मुलुकमा फैलिएको अस्थिरता, बेथिति, कमजोर राष्ट्रियताको फाइदा उठाएर उग्र राष्ट्रवादको नारा दिएर सत्तामा आए । सुरुको दुई तीन वर्ष जनताको पक्षमा राम्रा काम गरे । खाद्यान्न उत्पादन बढाउन किसानलाई कृषि कार्यमा व्यापक अनुदान, निजी उद्योगहरूको राष्ट्रियकरण, नयाँ उद्योगहरूको स्थापना, बेरोजगारी समस्याको समाधान आदि राम्रो काम गरे । जनताले उनलाई अपार समर्थन दिए । 

सुरुमा उनको पार्टीको सदस्य सत्र हजारमात्र भएकोमा दुई वर्षमा यो बढेर पाँच लाख पुगेको थियो । जनताको अपार समर्थन आफूमाथि देखेपछि उनी विस्तारै तानाशाह बन्दैगए र लोकतन्त्रको हत्या गर्दै एकदलीय शासन पद्धति लागू गरे । त्योभन्दा पहिलाको सरकारले जनता र राष्ट्रका लागि केही नगरेकाले जनताले उनलाई रोजेका थिए ।

इण्डियाले गरेको नाकाबन्दी र नाकाबन्दीविरुद्ध ओलीले लिएको अडानका कारण उनी रातारात राष्ट्रवादी बने वा बनाइए । आशंकाको विषय, कतै मोदीले त उनी चुुनावबाट पूर्णबहुमतको सत्तामा आऊन् भनेर नाकाबन्दी त गरेका थिएनन् ? लोपोन्मुख माओवादीलाई एमालेसँग मिलेर चुनाव लड्न कतै मोदीले त अह्राएका थिएनन् ? कालापानीका मुद्दालाई ओेझेलमा पार्न कतै इण्डियाले त पिके माधव गुटलाई उचालिरहेको त छैन ? इण्डियाका प्रबुद्ध बुद्धिजीवीहरूको भनाइमा इण्डियन टिभी जसलाई इण्डियनहरूले मोदीले काखमा लिएको मिडिया भएकाले गोदी मिडिया भन्छन्, ती मिडियामा आउने समाचारहरूको ड्राफ्ट मोदी निवासबाट बिहान मिडिया हाउसमा आउने गर्छ । 

आज समाचारमा के के दिने, अन्तर्वार्तामा कसकसलाई बोलाउने छनौट मोदी निवासले गर्छ । ओलीमाथिको विष बमन ओलीलाई हाइलाइट गर्न त होइन ? पार्टीभित्र बिग्रह ल्याएर ओलीलाई पार्टी फुटाउन लगाउने र नेपाली कांग्रेस, कथित मधेसवादी दलसँग मिलेर गठबन्धन सरकार बनाएर अमेरिकी स्वार्थमा एमसिसी पारित गराउने इण्डोअमेरिकन रणनीति सफल पार्ने षड्यन्त्र होइन भनेर भन्न सकिन्न । 

नेपालको अर्थतन्त्र टाट पल्टिने अवस्थामा भएको स्वयं अर्थमन्त्रीले नै भन्दैछन् । वैदेशिक ऋण प्रतिव्यक्ति पचास हजार पुग्न थालिसक्यो । वैदेशिक ऋण लिनुभनेको नेपाल विदेशी दासताको चंगुलमा फस्नु हो । विदेशी ऋणको आधाभन्दा बढी सत्तासीनहरूको सुखशयल र भ्रष्टाचारमा सकिन्छ । आधा रकम तल आउँदासम्म कमिसन, घुसखोरीमा धेरै भाग सकिन्छ । असारे विकास त्यसैको नमुना हो । 

यहाँ सबै दलका प्रायः सबै नेता विदेशी शक्तिका दास बनिसकेका छन् । राष्ट्रियताको भावना कुनै नेतामा छैन । सत्ता लुटको केन्द्र बनेको छ । सत्ताका कुनै पनि अंग इमानदार छैनन् । अदालतमाथिको विश्वास जनतामा गुम्दै गएको छ । जनता सडकमा आएर अदालतविरुद्ध उभिने दिन आइसक्यो ।

तराईमा लकडाउनको बेला बिहान सबेरैदेखि इण्डियामा साइकलमा मल ल्याउन जानेको ताँती लागेको हुन्छ । बढी मूल्यमा कमसल मल ल्याएर खेतबारीमा हाल्न किसान बाध्य छन् । देशमा एउटा मल उद्योग छैन तर देश कृषिप्रधान भनेर चिनिन्छ । अर्बौंको खाद्यान्न विदेशबाट निर्यात गर्नुपर्ने बाध्यता छ । कृषिमा दिने अनुदान सत्तामा बसेका र तिनीहरूका भरौटेहरूले मात्र प्राप्त गरेर दुरुपयोग गरी रहेका छन् । 

बर्दियामा एकजना मन्त्रीले करोडभन्दा बढी अनुदान लिएर आफ्ना भरौटेहरूको नामबाट पशुपालन व्यवसाय चलाएका छन् । सत्तापक्षकै तिनै मन्त्री र भूतपूर्व एकजना सभामुखको तारे होटल नेपालगञ्जमा भएको व्यापक चर्चा छ । तर, प्रत्यक्षरूपमा उनीहरू कतै देखिँदैनन् । पिकेको अदृश्य लगानी अर्बौंमा भएको ओपन सिक्रेट नै छ ।

अहिलेको दूरावस्थाका लागि प्रणव मुखर्जीले ड्राफ्ट बनाइदिएको १२ बुँदे समझदारी हो । मुलुकलाई सुधार्न पहिलो सुरुवात १२ बुँदेदेखि गर्नुपर्छ । कम्युनिष्ट पार्टीको झण्डामा रहेको हँसिया निम्नमध्यम तथा गरिब वर्गको घाँटी रेट्ने हतियारको प्रतीक र हथौडा चम्चाको, जो सत्ताको चाकडी गरेर लाभको पद प्राप्त गर्छको प्रतीक भएको छ । जनता नजागेसम्म मुलुकमा परिवर्तन असम्भव छ । जनता उठे भने नेताहरूको दिन मुसोलिनीको जस्तो हुनेछ । 

उग्र राष्ट्रवाद तथा जनताको सर्वांिगन विकासको नारा दिएर सत्तामा आएका मुसोलिनीको अन्त्य यति दर्दनाक हुन्छ भन्ने उनले सोचेका थिएनन् । नेपालमा जनता सचेत तथा देशभक्त नागरिक भएर जागे यी भ्रष्ट तथा देशद्रोही नेताहरूको हविगत पनि त्यस्तै हुनेछ । मुसोलिनीको नेतृत्वमाथि जनताले प्रश्न उठाउन थालेपछि सन् १९४३ जुलाई २५ मा राजा विक्टर इमैनुअलले मुसोलिनीको सरकारलाई बर्खास्त गरेर उनलाई जेलमा हालियो । तर उनका मित्र हिटलरले उनलाई छुटाए र उनलाई उत्तर इटलीको एउटा सानो क्षेत्रको कठपुतली शासक बनाए ।

जनताले त्यहाँ पनि विद्रोह गरे र उनी मुख लुकाएर एउटा ट्रकमा बसेर भाग्न लाग्दा उनी समातिए । २८ अप्रैल १९४५ मा उनी र उनको प्रेमिका क्लारेटा पेचाकीलाई गोली हानेर हत्या गरियो । दोस्रो विश्वयुद्धको सुरुवातमा मुसोलिनीले एउटा गफ दिएका थिए ‘यदि म युद्धको मैदानबाट भागेँ भने मलाई गोली हानी दिनू । तर यसको उल्टो देश छोडेर भाग्न लाग्दा उनका विरोधीहरूले नै उनलाई गोली हाने । साथै उनका सोह्रजना साथीहरूलाई पनि विनाकारण गोली हानी हत्या गरियो । 

बिहान आठ बजेसम्म यो खबर अखबारको विशेष संस्करण र रेडियोमा फैलिएपछि उनको शव भएको ठाउँ पियाजाले लोरेटोमा जहाँ उनले आफ्ना पन्ध्रजना विरोधीहरूलाई आठ महिनाअगाडि गोली हानी हत्या गरेका थिए पाँच हजारभन्दा बढी मानिसको भीड लाग्यो ।

एकजना महिलाले आफ्ना पाँचजना सन्तानको हत्या गरेको अपराधी भन्दै मुसोलिनीको शवमा पाँच राउण्ड गोली हानिन् । अर्की एकजना महिलाले मुसोलिनीको विक्षत अनुहारमा स्कर्ट उचालेर पिशाब फेरिदिइन् । अर्की महिलाले चाबुकले उसको शरीरमा कोर्रा वर्षाउन लागिन् । एकजना मान्छेले उसको मुखमा मरेको मुसा हाल्दै ‘ल अब यो मुखले भाषण गर’ भने । असंतुष्ट भीडले अठारवटै लाशलाई कुल्चदै हिँडे । 

मुसोलिनीको अमानुषिक अन्त्यको कुरा हिटलरले रेडियोबाट सुनेपछि मुसोलिनीको हत्याको दुई दिनपछि आफ्नो पनि त्यस्तै परिणति नहोस् भनेर उनी र उनकी प्रेमिका इभा ब्राउनले आत्महत्या गरेका थिए । 

आफ्नो देश र देशवासीलाई धोका दिनेहरूको अन्त्य यस्तै हुन्छ तर सचेत तथा देशभक्त जनता चाहिन्छ । इतिहासबाट हाम्रा नेताहरूले पनि पाठ सिक्नुपर्ने हुन्छ । मुसोलिनीलाई राजाले पदच्यूत गरेका थिए तर नेपालमा राजा छैनन् भनेर ढुक्क हुनु हुँदैन, जनता नै राजा बन्न सक्छन् । अफ द रेकर्ड ।