हात धुने, मास्क लगाउन र स्वास्थ्य सजगता जारी राख्न डब्ल्युएचओको आग्रह

वासिंटन । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस (कोभिड–१९) निर्मूल पार्ने औषधि तत्कालै बन्ने सम्भावना नरहेकाले हात धुने र मास्क लगाउनेजस्ता स्वास्थ्य सजगता जारी राख्न आग्रह गरेको छ । डब्ल्युएओका प्रमुख डा. टेड्रोस अधानोमले कोरोना भाइरसविरुद्धको खोप पत्ता लाग्ने आशा रहेको, तर तत्कालका लागि यसको अचुक औषधि नरहेको बताउनुभएको हो । 

अहिलेकै अवस्था हेर्दा कोरोनालाई पूर्ण रूपमा जित्नसक्ने औषधि कहिल्यै नबन्न पनि सक्ने उहाँको भनाइ छ । कोरोना महामारी नियन्त्रणमा गम्भीरतापूर्वक लाग्नेभन्दा पनि अनुमान र हचुवा निर्णय गरेको भनेर आलोचना खेपिरहनुभएका डा. अधानोमले यसअघि पनि कैयौंपटक कोरोना भाइरस संसारबाट कहिल्यै निर्मुल नहुने सम्भावना रहेको बताउँदै आउनुभएको छ । 

टेड्रोस भन्नुहुन्छ, ‘केही खोपहरू तेस्रो चरणको परीक्षणमा छन्, यी मध्ये कुनै एक खोप मानिसलाई संक्रमणबाट बचाउन उपयोगी साबित भइदिए हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो, तर अहिलेसम्म कोरोनाबाट बच्ने कुनै अचुक औषधि भेटिएको छैन, यस्तो अवस्थामा हामीले परीक्षण, एकान्तबास र मास्क प्रयोगलगायतका काम जारी राख्नुपर्छ ।’ 

मौसम बदलिँदैमा कोरोना भाइरस फैलावटमा कुनै असर नपर्ने र यो मौसमी फ्लु नभएको बताउनुभएको छ । अधोनमको दाबी पुष्टि पनि भइसकेको छ । यसबीचमा विश्वभर मौसम बदलिए पनि महामारी फैलावटमा यसको कुनै असर देखिएको छैन । खोप या औषधिको टुंगो नलागेपछि डब्लूएचओले विश्वभरका मानिसहरूलाई संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्न र राम्रोसँग हात धुन सुझाएको छ । साथै, खुला स्थानमा हिँड्दा र समूहमा बस्दा मास्क लगाउन पनि आग्रह गरेको छ । गत डिसेम्बरताका चीनको वुहान शहरमा पहिलोपटक देखिएको यो भाइरसले यतिवेला विश्वलाई नै आक्रान्त बनाएको छ । यसका कारण अहिलेसम्म विश्वमा एक करोड ८४ लाखभन्दा बढी मानिसमा संक्रमण भइसकेको छ भने ६ लाख ९७ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।