मलेसियामा नेपालीकै हत्याको अभियोगमा ३ जना नेपाली पक्राउ।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा नेपाली श्रमिककै हत्याको अभियोगमा ३ जना नेपालीलाई पुलिसले पक्राउ गरेका छन् । 

मलेसियाको जोहोरबारुमा पर्ने कुलाइ जिल्लाको इन्दाहपुरामा मंगलबार बिहान एक नेपालीको हत्या भएको थियो ।
कुलाइ जिल्लाका प्रहरी प्रमुख टोक बेंग यो ले बताए अनुसार पुलिसलाई एक व्यवसायिक प्रतिष्ठानको परिसरमा एक व्यक्ति अचेत अवस्थामा रहेको भन्दै मंगलबार बिहान ४ बजेर २० मिनेटमा फोन आएको थियो । ‘शरीरको जाँच गर्दा पीडितको दाहिने आँखा र अनुहारमा चोटको निशान भेटिएको थियो र उनको मुखबार रगत आइरहेको थियो’ टोक बेंगले भने ।यो खबर स्थानीय अनलाइन पत्रीका द-स्टारमा प्रकाशित छ्न।

प्रहरी प्रमुख टोक बेंगका अनुसार घटनास्थलबाट पुलिसले हत्याको लागि हतियारको रुपमा प्रयोग गरिएको हुन सक्ने कुनै वस्तु फेला पारेको छैन । पीडित कुनै झगडामा सरिक भएको र झगडाकै क्रममा उनको मृत्यु भएको हुन सक्ने कुरालाई पुलिसले अस्वीकार गरिसकेको छैन । घटनास्थलमा आएको मेडिकल टिमले उनको मृत्यु भइसकेको पुष्टि गरेपछि शवलाई पोस्टमार्टमका लागि सुल्तानाह अमिनाह अस्पताल पठाइएको छ ।

पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु पेटमा कडा वस्तुले हिर्काएका कारण भएको उल्लेख छ । पुलिसले अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा मंगलबारकै दिन साढे ११ देखि साढे १२ बजेको समयमा तीन जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेको छ । मृतक र पक्राउ परेका नेपालीहरुको पहिचान खुलाइएको छैन । पक्राउ परेकाहरु २३ वर्षदेखि ३७ वर्ष उमेरका रहेको जनाइएको छ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले पनि घटनाबारे स्थानीय सञ्चार माध्यममा आएको समाचारबाटै आफूले पनि खवर पाएको बताए, तर घटना बारे आधिकारीक जानकारी आएपछि मात्रै घटनाको बारेमा विस्तृत रुपमा थाहा हुने र थप केही भन्न सकिने राजदुत पाण्डेले बताए।