नदी कटानले सुकुम्वासी बस्ती जोखिममा

सुनसरी । अविरल बर्षातसँगै आएको बाढीका कारण सुनसरीको धरान उपमहानगरपालिकाका तीन हजार भन्दा घरपरिवार उच्च जोखिममा परेका छन् । अव्यवस्थित रुपमा धरानका विभिन्न खोला किनाराको जग्गा ओगटेर बसोवास गर्दै आएका २६ सुकुम्वासी बस्तीका तीन हजार बढि घरपरिवार उच्च जोखिममा परेका हुन् । 

बर्षासंगै खोलामा आएको बाढीका कारण धरानमा नौं वटा घर बाढीले बगाएको छ । बर्षातका कारण धरानको सेउती, सर्दु, अधेरी, शेहरा र अन्य दर्जन बढि खहरे खोला किनारामा बसोवास गर्दै आएका तीन हजार बढि घरपरिवारहरु बाढीको उच्च जोखिममा रहेको नेपाल बसोवास बस्ती संरक्षण समाजका केन्द्रिय महासचिव कुमार कार्कीले बताउनुभयो । उहाँकाअनुसार, ‘धरानका नौलो बस्ती, लोकतान्त्रिक बस्ती, प्रगती मार्ग, सुनौलो बस्ती, गैरी टोल, सगरमाथा टोल, फोकलेण्ड टापु, गणतन्त्र बस्ती, ललित टोल, वीरनारायण मार्ग, सिर्जना बस्ती, खोरिया बस्ती, अरुण टोल, बरुण टोल, सभागृह मार्ग, हाम्रो टोललगायतका बस्तीका तीन हजार बढि घरपरिवार बाढीको उच्च जोखिममा परेका छन् ।’

२०६३÷६४ को जनआन्दोलन पश्चात धरानमा खोला किनाराको बगर ओगटेर पाँच हजार भन्दा बढिले घर बनाई अव्यबस्थित रुपमा बसोवास गर्दै आएका छन् । जथाभावी खोला अतिक्रमण गरी निर्माण गरिएका बस्ती बर्षातको समयमा बर्षेनी उच्च जोखिममा पर्ने गरेका छन् ।

निर्वाचनका वेला यिनै सुकुम्वासी बस्तीहरुलाई व्यवस्थित गर्ने वचन दिएर चुनाव जितेका जनप्रतिनिधिहरु चुनाव जितेपछि बस्तीमा नै आउन छाडेको पीडितहरुको गुनासो छ । खोलामा आएको बाढीले घर बगाउन लाग्दासमेत सरकारले खोला नियन्त्रण गर्न कुनै सहयोग नगरेको उनिहरु बताउँछन् । सरकारले सुकुम्वासी बस्ती व्यवस्थापनमा चासो नदेखाउँदा हजारौं सुकुम्वासीहरु बाढी आएको समयमा त्रासमा बस्न बाध्य हुनु परेको पीडितहरु बताउँछन् । 

धरानका सुकुम्वासी बस्तीहरु बाढीको जोखिममा परेपछि प्रदेश–१ का सांसद भीम आचार्य र उमिता बराईलीसहितका जनप्रतिनिधिहरुले स्थलगत निरीक्षण समेत गर्नुभएको छ । सांसद भीम आचार्यले धरानका खोला आसपासका बस्तीहरुको दिर्घकालिन समस्या समाधान गर्न आफु लागिपरेको आश्वासन दिनुभएको छ । धरानमा खोला किनाराको जग्गा ओगटेर अबैध रुपमा बस्ती बसाउनेहरुमा सत्तारुढ दल नेकपा, कांग्रेस, खम्बुवान, लिम्बुवानका स्थानिय नेताहरु बढी सक्रिय छन्  ।