सुदूरपश्चिमको कोरोना अस्पताल रित्तियो

कैलाली ।सुदूरपश्चिममा कोरोना अस्पतालको आइसोलेसन रित्तिएको छ । कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालको आइसोलेसन तीन दिनदेखि खाली भएको हो । साउन ६ गतेदेखि कोरोना संक्रमित नआएपछि आइसोलेसन खाली भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो । 

अस्पतालको आइसोलेसनमा  हालसम्म संक्रमित र शंकास्पद गरी १८३ जना भर्ना भएका थिए । हाल स्थानीय तहहरुले निमार्ण गरेका आइसोलेसन र होम क्वारेन्टिनमा संक्रमितहरुलाई राख्न थालिएको श्रेष्ठले बताउनुभयो । हालसम्म सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ८० जनाको उपचार भएर डिस्चार्ज भएको श्रेष्ठले जानकारी दिनुभयो । 

स्थानीय तहहरुलेसमेत आइसोलेसन निर्माण गरेका कारण कोरोना संक्रमित तर लक्षण नदेखिएकाहरु सोही आईसोलेसन र होम क्वारेन्टिनमा बस्ने गरेको उहाँले बताउनुभयो । त्यस्तै धनगढी उप–महानगरपालिकाले संञ्चालन गरेको आइसोलेसनमासमेत अहिले संक्रमितको संख्यामा कमी आएको छ । 

उप–महानगरपालिका–८ का अध्यक्ष तथा कोभिड–१९ फोकल पर्सन नारायण बरालले उप–महानगरपालिकाको आइसोलेसनमा हाल १४ जना मात्रै संक्रमित रहेको बताउनुभयो । बिहीबारसम्म सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार १७७ पुगेको छ । संक्रमण पुष्टि भएका दुई हजार २३३ जना डिस्चार्ज भएका छन् भने आठ जनाको मृत्यु भईसकेको छ ।