सुदूरपश्चिमका सात स्थानमा मौसम मापन केन्द्र स्थापना

धनगढी ।सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएको छ । सुख्खा फलफूल केन्द्र सतबाँझ, गोकुलेश्वर कषि क्याम्पस गोकुलेश्वर, कृषि ज्ञान केन्द्र बझाङ र तरकारी जर्मप्लाज्म सम्बद्र्धन तथा बीउ उत्पादन केन्द्र घटाल डडेल्धुरामा मौसम मापन केन्द्र स्थापना गरिएको हो । त्यस्तै कृषि विकास निर्देशनालय दिपायल डोटी, कृषि ज्ञान केन्द्र कञ्चनपुर र टीकापुर प्राविधिक शिक्षालय कैलालीमा केन्द्र स्थापना गरिएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ । 

मापन केन्द्रले मौसमको पूर्वानुमान, हावाहुरी, घाम, पानी, बादल र आद्रता मापन गर्ने जनाइएको छ । कूल २६ लाख ३९ हजार रुपैयाँ लागतमा निर्देशनालयले उपकरण जडान गरी केन्द्र स्थापना गरेको हो । कृषि विकास निर्देशनालय दिपायलले जडान गरेको मौसमसम्बन्धी जानकारी दिने उपकरणको रिपोर्ट कृषि विकास निर्देशनालयबाट अध्यावधिक गर्ने जनाइएको छ