सुदूरपश्चिममा बढ्दो लापरबाही

भारतबाट आउनेलाई सिधै घर पठाउँदा समुदायमा खतरा

कैलाली ।सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या चार हजारको हाराहारी पुगेको छ । १४ चैत्रमा पहिलो पटक सुदूरपश्चिममा एक जनामा संक्रमण देखिएकोमा चार महिनाको अवधिमा संक्रमितको संख्या चार हजारको हाराहारीमा पुगेको छ । प्रदेशका पछिल्लो समय परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि बढेको हो । 

कैलालीको त्रिनगर नाका हुँदै भारतबाट दैनिक सात सयको हाराहारीमा नागरिकहरू आइरहेका छन् । केही दिन अघि एक डेढ सयको हाराहारीमा मात्रै नागरिक आइरहेकोमा यो क्रम क्रमशःबढ्दै गइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । त्रिनगर नाकाबाट मात्रै हैन प्रदेशका अन्य नाका गड्डाचौकी, धार्चुला र झुलाघाट नाकाबाट पनि दैनिक जसो नेपालीहरु स्वदेश फर्किरहेका छन् । भारतबाट लकडाउन अवधिमै करिब दुई लाखको हाराहारीमा नागरिक सुदूरपश्चिम प्रदेश हुँदै नेपाल भित्रिएका थिए । 

भारतबाट आएर सात दिन धनगढी तीन बोराडाँडीको क्वारेन्टिनमा बिताएका धनगढी चटकपुरका मुकेश शाही लगायतका ५ जनालाई क्वारेन्टिनको अवधि नपुग्दै सात दिनमै परीक्षण बिनै घर पठाइयो । घर जाँदै गर्दा उहाँले भन्नुभयो, ‘हाम्रो आरडीटी परीक्षणमात्रै भयो, पीसीआर परीक्षण गर्न माग ग¥यौं भएन । हामीले बरु केही दिन अझ क्वारेन्टिनमा बस्छांै । तर पीसीआर परीक्षण गरेर मात्रै पठाउन भन्यौं, तर एक सातामै घर जानुप¥यो ।’ स्वास्थ्य परीक्षण गरेर घर पठाएको भए निर्धक्कसँग घर जान सकिने अवस्था भएपनि त्यस्तो नहुँदा निकै डर लागिरहेको उहाँको भनाइ छ ।  उहाँसँगै घर फर्किरहेका धनगढी बोराडाँडीका नारद धामीले आफूहरूको स्वास्थ्य परीक्षण नहुँदा मनमा डर लागिरहेको गुनासो गनुृभयो । वडा नम्बर–३ मा रहेको त्रिनगर विद्यालयको क्वारेन्टिनमा १३७ जना रहेकोमा बुधवार बाँकी रहेका पाँच जनालाई घर पठाइएको छ । अन्यलाई यस अघि नै घर पठाइसकिएको थियो । 

योसँगै अब क्वारेन्टिन खाली भएको छ । अब आउने नागरिकलाई होम क्वारेन्टिनमा राखिने वडा नम्बर–३ का वडाध्यक्ष बल बहादुर ऐरले बताउनुभयो । संक्रमित फेला पर्ने क्रम पनि घट्दै गइरहेको छ । तर स्थिति केही सहज बनिरहेको अवस्थामा यहाँका स्थानीय तह भने अब आउने नागरिकलाई क्वारेन्टिनमा राख्न नसकिने भन्दै फेरि असहज स्थिति सिर्जना गर्न खोजिरहेका छन् । 

एक महिनाअघि मात्रै ६६ हजार बढी नागरिक सुदूरपश्चिमका क्वारेन्टिाइनमा थिए । तर त्यो संख्या अहिले ह्वात्तै घटेको छ । क्वारेन्टिनमा रहेकाहरूलाई कसैलाई १४ दिन पुग्ने वित्तिकै परीक्षण बिनै घर पठाईयो भने कसैलाई आरडीटी परीक्षणकै भरमा ७÷८ दिनमै घर पठाईयो । अहिले क्वारेन्टिनमा ६ हजारको हाराहारीमा मात्रै नागरिक रहेको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयो । 

सुदूरपश्चिममाका क्वारेन्टिनमा रहेका नागरिकहरूलाई धमाधम घर पठाउन थालिएपछि समुदायमा भने जोखिम बढेको छ । धनगढी उपमहानगरपालिकाले मात्रै हैन प्रदेशका सबैजसो स्थानीय तहहरुले क्वारेन्टिन खाली गर्न थालेका छन् । प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले क्वारेन्टिन खाली गर्ने विषयमा आफूहरूसँगै कुनै सल्लाह नभएको बताउनुहुन्छ ।  

अब भारत वा अन्य देशबाट आउने स्थानीयहरूलाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टिनमा राख्न उहाँले आग्रह गर्नुभयो । संक्रमण दर घट्दै गइरहेको अवस्थामा स्थानीय तहरुमा भइरहेको यो लापरबाहीले ठूलो जोखिम निम्ताउन सक्ने खतरा बढाएको छ ।