मलेसियामा नेपालीले पासपोर्टको दुरुपयोग नगर्न र कम्पनी छाडी नभाग्न दूतावासको अपील।

क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई आफ्नो राहदानी (पासपोर्ट) को दुरुपयोग नगर्न कडा चेतावनीसहित सचेत गराएको छ।

राजदूतावासले सदा झै साप्ताहिक फेसबुक लाईभ कार्यक्रममार्फत नेपाली श्रमिकहरूको कानुनी अधिकारको रक्षा गर्दै रोजगारदाताहरूबाट पासपोर्ट फिर्ता गराउने अभियान चलाइरहेका बेला, केही श्रमिकहरू पासपोर्ट हातमा पर्ने बित्तिकै पुरानो कम्पनी छाडेर भाग्ने (Run away) प्रवृत्ति बढेको पाइएको छ। दूतावासले स्पष्ट पारेको छ कि पासपोर्ट आफ्नो साथमा राख्न पाउनु पहिचान र सुरक्षाका लागि हो, तर यसलाई सम्झौता गरिएको कार्यस्थलबाट बिना सूचना भाग्ने लाइसेन्सको रूपमा लिन पाइने छैन।

यसरी बिना कानुनी प्रक्रिया स्वीकृत कम्पनी छाडेर भाग्दा श्रमिकहरू तत्कालै ‘अलेखबद्ध’ (Undocumented) वा अवैध हुन पुग्छन्, जसले गर्दा स्थानीय प्रशासनबाट पक्राउ पर्ने, जरिवाना हुने र जेल सजाय समेत भोग्नुपर्ने उच्च जोखिम रहन्छ।

रोजगारदाताले ठुलो लगानी गरेर श्रमिक ल्याउने हुनाले बिना कारण भाग्दा वैदेशिक रोजगार व्यवसाय र नेपालको छविमा समेत गम्भीर असर पर्ने दूतावासको ठहर छ। यदि कार्यरत कम्पनीमा पारिश्रमिक वा सेवा-सुविधा सम्बन्धी कुनै पनि समस्या भएमा लुकेर अवैध मार्ग रोज्नुको सट्टा सिधै दूतावासको हटलाइनमा सम्पर्क गरी कानुनी र कूटनीतिक तवरबाट समाधान खोज्न दूतावासले विशेष अपिल गरेको छ।