झापा ।झापामा एक जनाको हत्या गरी फरार अभियुक्त १४ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–५ बस्ने ४१ बर्षीय पुण्य प्रसाद विश्वकर्मा छन् । झापाको टागनडुब्बा गाउँपालिका–९ बस्ने नत्थु विश्वकर्माको कुटपिटबाट हत्या गरी उनी १४ बर्षदेखि फरार थिए । मृतकको साइकल नसोधि प्रयोग गरेको बिषयमा विवाद हुँदा भएको झडपमा पुण्य प्रसादको कुटपिटबाट नत्थु विश्वकर्मा गम्भीर घाइते हुनुभएको थियो । घाइते विश्वकर्माको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो । त्यस लगत्तै उनी फरार थिए । प्रहरीले मेचीनगर नगरपालिका–८ स्थित इँटाभट्टा चोकमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । पुण्य प्रसाद विकलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पेस्तोल तथा गोलीसहित पक्राउ
सुनसरी।सुनसरीमा पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ परेका छन् भने अन्य तीन जना फरार भएका छन् । पक्राउ पर्नेमा सुनसरीको देवानगंज गाउँपालिका–२ बस्ने २३ वर्षीय पिन्टु यादव र सोही गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजेश यादव छन् । उनीहरुको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउण्ड, म्याग्जिन २ थान तथा बिआर ३८ भि ३५२८ नम्बर र अनटेष्ट लेखिएको मोटरसाइकल बरामद गरेको छ । बिहीबार राति देवानगंज गाउँपालिका–३ पानी ट्याङकीस्थित जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको गस्ती टोलीले शंका लागि चेक जाँच गर्नेक्रममा भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकलमा आएका पिन्टु यादव, राजेश यादव र अन्य तीन जनाले प्रहरीलाई लक्षित गरी एक्कासी फायर खोली भाग्न खोज्दा प्रहरीले दुई जनालाई पक्रन सफल भएको जनाएको छ । घटनामा संलग्न फरार रहेका अन्य तीन जनाको खोजी भईरहेको समेत प्रहरीले जनाएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सिरहा ।सिरहामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका–७ प्रेमनगर बस्ने २५ वर्षीय राजेश राउत छन् । राउतले ती किशोरीलाई फकाई फुलाई आफ्नो घरमा बोलाई जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी भेडिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
धादिङ ।धादिङमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर–९ पाल्पा भज्याङका २६ बर्षीय राम हरी लम्साल हुनुहुन्छ । काठमाडौँको ट्रमा सेन्टरमा उपचारको क्रममा शुक्रबार बिहान उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङबेसीबाट पाल्पाभन्ज्याङ जानेक्रममा बिहीबार राति उहाँको मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाईकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खोल्सामा खस्दा उहाँ गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । लगत्तै स्थानीयले उद्धार गरी उहाँलाई थप उपचारका लागि काठमाडौं पठाइएकोमा उहाँको मृत्यु भएको हो ।




















