पोखरा । पोखरा वडा नं २३ स्थित हर्पन तथा खहरे खोलामा अब लकडाउनको अवधि भर पौडी खेल्न नपाइने भएको छ । उक्त वडाले नै यहाँ पौडी खेल्न रोक लगाएको हो । पछिल्लो समय अविरल बर्षाका कारण खोला नाला बढेसँगै हर्पन खोलाको आकार पनि बढेको छ ।
अरुबेला सामन्य देखिए पनि यो बेलामा भने गर्मी सँगै बढेको पानीले गर्दा हर्पन खोला आफैंमा आकर्षक देखिएको छ । पछिल्लो समय हर्पन खोला पोखरेलीहरुको पौडी खेल्ने गन्तव्यको रुपमा स्थापित भएको छ ।
पोखरा बजार क्षेत्रका मानिसहरु खोलामा पौडी खेल्न आउँदा यो महामारीको समयमा कोरोना फैलिने प्रबल सम्भावना पनि रहेको स्थानीयहरु बताउँछन् । महामारीलाई फैलिन नदिन स्थानिय सरकारको पहलमा उक्त खोलामा पौडी खेल्न रोक लगाइएको छ ।
सूचना अनुसार पौडी खेल्दा महामारीको जोखिम रहेकाले लकडाउनको अवधिभर पौडी खेल्न बन्द गरिएको जनाइएको छ । वडा नं २३ का वडाअध्यक्ष बिष्णु पराजुलीकाअनुसार महामारीलाई फैलिन नदिन कुनै पनि कसुर बाँकी नराख्ने बताउनुभयो । पराजुली भन्नुहुन्छ, ‘कोरोना महामारी मात्र हैन, बढ्दो हर्पनखोलाले गर्दा पौडी खेल्नेहरुको ज्यान समेत जान सक्ने हुँदा तत्कालको लागि पौडी खेल्न रोक्नु पर्ने बाध्यता रहेको छ ।’
गत शुक्रबार हर्पन खोलामा पौडी खेल्ने क्रममा पोखरा २६ रामबजारका प्रयुश गुरुङ बेपत्ता हुनुभएको थियो । उहाँको अझै खोजी भईरहेको छ । यसबाट सुरक्षित रहनको लागि वडाले पनि पहल गरिरको पराजुलीले जानकारी दिनुभयो ।




















