क्वालालम्पुर (मलेसिया):= मलेसियामा अनलाइन ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहविरुद्ध अध्यागमन विभागले विशेष कारबाही गर्दै ६४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।मलेसियाली अध्यागमन विभाग (इमिग्रेशन) र सञ्चार तथा मल्टिमिडिया आयोग (MCMC) को संयुक्त टोलीले अक्टोबर २८ र २९ तारिख सञ्चालन गरेको दुईदिने विशेष अभियानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
क्वालालम्पुरको जालान केरिन्चीस्थित चारवटा सुविधासम्पन्न कन्डोमिनियम र सेरडाङको द माइन्स क्षेत्रका दुईवटा बंगला भवनमा छापा मार्दा ४४ जना चिनियाँ, १९ जना भियतनामी र एक जना म्यानमारका नागरिक पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार उक्त गिरोहले विगत दुई महिनादेखि अनलाइनमार्फत ठगी गर्दै आएको आशंका गरिएको छ।

गिरोहले नक्कली सेवा उपलब्ध गराउने प्रलोभन देखाउँदै डिजिटल प्लेटफर्ममार्फत सर्वसाधारणलाई ठगी गर्ने गरेको पाइएको छ। उनीहरूले दैनिक १ लाखदेखि १ लाख ५० हजार रिंगेटसम्म अवैध आम्दानी गर्ने गरेको र दुई महिनाको अवधिमा करिब ६० लाख रिंगेटसम्म ठगी गरेको हुन सक्ने प्रारम्भिक अनुमान छ।
कारबाहीका क्रममा प्रहरीले २८ थान कम्प्युटर, ८१ थान मोबाइल फोन तथा अन्य सञ्चार उपकरण बरामद गरेको छ। बरामद सामग्रीको कुल मूल्य ५१ हजार ३०० रिंगेट रहेको अध्यागमन विभागले जनाएको छ। त्यसैगरी, जापान, दक्षिण कोरिया र अमेरिकाका तीनवटा राहदानी तथा सम्बन्धित देशका हवाई टिकटसमेत फेला परेका छन्। ती कागजात दुरुपयोग वा नक्कली कागजातसम्बन्धी गतिविधिमा प्रयोग भएको हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेका सबै विदेशी नागरिकमाथि मलेसियाको अध्यागमन ऐन १९५९/६३ तथा अध्यागमन नियमावली १९६३ अन्तर्गत विभिन्न कसुरमा अनुसन्धान अघि बढाइएको छ। मलेसियाली अध्यागमन विभागले अन्तरदेशीय आपराधिक गिरोहले मलेसियालाई अवैध गतिविधिको केन्द्र बनाउन नपाऊन् भन्ने उद्देश्यले सम्बन्धित सरकारी निकायसँगको सहकार्यमा निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।
समाचार र फोटो स्रोत : अध्यागमन विभाग मलेसिया ।




















