क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेनाङमा अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकविरुद्ध प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा ११ जना विदेशी पुरुष पक्राउ परेका छन्। पेनाङ नगर परिषद् (MBPP), मलेसियाली प्रहरी (PDRM) र पूर्वी जिल्ला प्रहरी मुख्यालय (IPDTL) को संयुक्त टोलीले अक्टोबर २९ तारिख साँझ ६ बजेदेखि राति ११ बजेसम्म जालान रुम्बिया र जालान टुन डा. अवाङ क्षेत्रका व्यापारिक प्रतिष्ठान तथा आसपासमा विशेष अनुगमन गरेको हो।
अभियानका क्रममा विभिन्न देशका नागरिकसहित १०३ जनाको परिचय तथा कागजात जाँच गरिएको थियो। जाँचका लागि सबैलाई पूर्वी जिल्ला प्रहरी मुख्यालय लगिएको थियो।जाँचका क्रममा ११ जना विदेशी पुरुषसँग वैध परिचयपत्र तथा आवश्यक कागजात नभेटिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि मलेसियाको अध्यागमन ऐन १९५९/६३ को दफा ६(१)(ग) अन्तर्गत कानुनी कारबाही अघि बढाइनेछ।
१० व्यापारिक प्रतिष्ठानमा अनुगमन, तीनविरुद्ध कारबाही
संयुक्त अभियानकै क्रममा पेनाङ नगर परिषद्ले जालान रुम्बिया र जालान टुन डा. अवाङ क्षेत्रका १० वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा व्यापार सञ्चालन अनुमतिपत्र, कामदारका कागजात तथा सार्वजनिक स्थानको प्रयोगसम्बन्धी नियम पालना भए–नभएको जाँच गरिएको थियो।
जाँच गरिएका १० प्रतिष्ठानमध्ये तीनवटामा व्यापार सञ्चालनसम्बन्धी नियम उल्लङ्घन भएको पाइएको छ। बाँकी सात प्रतिष्ठानमा भने कुनै सामान वा उपकरण जफत गर्नुपरेको छैन। नगर परिषद्ले सार्वजनिक स्थानमा अवरोध हुने गरी सामान तथा व्यापारिक उपकरण राख्न नपाइने र व्यापारिक गतिविधि प्रचलित नियमअनुसार सञ्चालन हुनुपर्ने जनाएको छ।
पेनाङ नगर परिषद्ले सहरको सरसफाइ, सार्वजनिक स्थानको संरक्षण र व्यवस्थित व्यापारिक वातावरण कायम राख्न नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।




















